बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज भारतको सामना गर्दैछ । आइतबार भएको पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित नेपाल भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भारतबीचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समयअनुसार अपरान्ह सवा २ बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित नेपाल भारतविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रँदैछ । तर, आयोजक बंगलादेशसँग ६ – ० ले पराजित नेपाललाई भारतविरुद्ध जित निकाल्न निकै कठिन हुने देखिएको छ ।
भारतले आइतबार भएको पहिलो खेलमा भुटानलाई ३ – ० ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरिसकेको छ । पहिलो खेलमा पराजित भएपनि बलियो भारतविरुद्ध मैदान उत्रदा नेपालले फरक रणनीति बनाउने प्रशिक्षक गंगा गुरुङले बताएकी छिन् । प्रशिक्षक गुरुङले नेपालको मिडफिल्डमा देखिएको समन्वय अभावलाई सुधार गरिरहेको र कमजोर देखिएको डिफेन्सलाई समेत मजबुद बनाएर मैदान उत्रने जानकारी दिइन् ।

English
MTV NEPAL MTVNEPAL


