काठमाडौंको बानेश्वरमा बस्दै आएकि सबिता केसि बानेश्वरमै अवस्थित नेपाल कर्मश क्याम्पसमा बिबिएस चौथो वर्षमा अध्ययन गर्दैछिन् । नेपाल कर्मश क्याम्पस अर्थात एनसिसि कलेज .. जो त्रिभुवन विश्वविद्यालयकै एक आंगिक क्याम्पस हो । +२ आफ्नो गृह जिल्लाकै एक नाम चलेको निजि कलेजमा पढेकि उनलाई स्नातक सरकारी कलेजबाटै उत्तिर्ण गर्ने धोको थियो । सरकारी कलेजमा अध्ययन गर्दा पछि सरकारी सेवामा प्रवेश गर्दा अलि मान्यता हुन्छ भन्ने उनले सुनेकि थिईन । व्यवस्थापन संकायमैं +२ पढेकाले पनि उनलाई सोही संकायमै उच्च शिक्षा अध्ययन गर्नु थियो । उनले यस विषयमा परिवारसंग सल्लाह गरिन् । काठमाडौंमै बस्दै आएका आफ्नै गाउँका दाईदिदिहरुसंग पनि उनले काठमाडौंमा रहेका व्यवस्थापन संकायमा नाम चलेका क्याम्पसहरुका बारेमा बुझ्न थालिन् । सबैले शुरुमै रिकमेन्ट गर्ने कलेज थियो एनसिसि कलेज …उनलाई पनि ठिकै हुन्छ होला भन्ने लाग्यो र बिहान कलेज पढ्ने दिउँसो मिल्यो भने सानातिनो भएपनि काम गर्नुपर्ला भन्ने सोचेर उनि काठमाडौं छिरिन् । पहिल्यै कहाँ पढ्ने माईन्ड सेट भएकाले उनले बानेश्वरतिरै डेरा लगिन् र २०७६ सालमा कलेज भर्ना भईन् । शुरुमा त ठिकै थियो तर विस्तारै बुझ्दै जाँदा उनलाई वाक्क दिक्क लाग्यो । न समयमा परिक्षा हुने , नत समयमै नतिजा प्रकाशन हुने , झन् त्यहि समयमा आएको महामारी कारोनाले झन् सबैको पढाई बिगा¥यो । उनि भन्छिन् ‘बेकारमा काठमाडौं पढ्न आएछु । काठमाडौंको खर्च त्यस्तै ..पहिलो वर्षको नतिजा नआई अर्काे वर्षको पढाई शुरु हुन्छ , अरु त कुरै छोड्दिनुस् तेस्रो वर्षको पढाई शुरु हुँदा समेत पहिलो वर्षको नतिजा आउँदैन । दिक्क लागिसक्यो कलेज join गर्नुभन्दा बरु विदेश गएको भएनि यति वर्षसम्म त केहि न केहि हुन्थ्यो जस्तो लाग्छ उनलाई । उनि भन्छिन ‘ समय मात्रै बर्बाद भईराछ ।’
उनको कलेजका साथीहरु समेत सबैजना अहिले यहि कारणले फ्रस्टेट भएको उनि बताउँछिन् । ‘कलेजमा पनि रेगुलर पढाई हुँदैन , जब खोज्न जाँदा राम्रो जब पाउँदैन…हाम्रो कलेजमा प्रायः सबैजना बाहिरबाटै आएका विद्यार्थी धेरै छौं । कोहि आफन्तकोमा बस्ने ,कोही साथीसाथी मिलेर डेरा लिएर बस्ने त्यस्तै त्यस्तै छौं । अब कमाउने उमेर पनि भईसक्यो । घरबाट खर्च माग्नु पनि अफ्ठयारो लाग्न थालिसक्यो । राम्रोसंग कलेज पढेर सक्काएसि राम्रो ठाउँमा काम गरौंलां भन्ने कत्रो सपना थियो । तर टाईममा परिक्षा हुँदैन ,रिजल्ट नि आउँदैन दिक्क लाईसक्यो ।’ ‘४ वर्षे स्नातक पास गर्नपनि ८ वर्ष लाग्ने जस्तो छ । के गर्नु ? आधा कलेज छोडेर गाउँ जाने कुरा पनि भएन’…..उनिहरु भन्छन् ।
यो उनिहरुको मात्रै पिडा होईन उनिहरु जस्ता लाखौं विद्यार्थीहरुको पिडा हो । जो देशकै पुरानो,ठुलो र प्रतिष्ठित विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन् प्राप्त क्याम्पसहरुमा अध्ययन गरिरहेका छन् ।
जुन विश्वविद्यालयबाट आफ्नो शैक्षिक जिवन पुरा गर्न पाउँदा विद्यार्थीहरुले गर्व मान्ने गर्दथे कुनै समय….. जुन विश्वविद्यालयबाट आफ्नो शिक्षा पुरा गरेका विद्यार्थीहरु अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै परिचित छन् । हरेक क्षेत्रमा अब्बल कहलिएका छन् । त्यसैले पनि यस विद्यालयमा पढ्नका लागि विद्यार्थीहरु लालायित नहुने कुरै भएन । तर यहि विश्वविद्यालयले पछिल्लो समय विद्यार्थीको भविष्य अन्धकार बनाईरहेको छ ।
दोस्रो वर्षको परिक्षा सकेर तेस्रो वर्षको पढाई शुरु हुने समयमा पहिलो वर्षको परिक्षा मिति तोकिन्छ । यो कस्तो शैक्षिक प्रणाली हो ? यसपटक त झन् हदै पार गरेको छ टियुले ….विद्यार्थीले पहिल्यै दिईसकेको परिक्षाको उत्तरपुस्तिका हराएको भन्दै पुनः परिक्षा दिनुपर्ने भनेर अहिले सुचना निकालेको छ । विद्यार्थीलाई कति तनाव दिन सकेको टियुले ? विद्यार्थीको उत्तरपुस्तिका सुरक्षित राख्ने जिम्मेवारी कस्को हो ? विश्वविद्यालयले गल्ति गर्ने अनि सजाय चाँही विद्यार्थीलाई दिने ? यो कतिसम्मको अन्याय हो विद्यार्थीमाथी ?
अध्ययन पुरा गरेर कुनै क्षेत्रमा पाईला टेकि आत्मनिर्भर हुने बेलामा स्नातक पास गर्दागर्दै विद्यार्थीलाई बुढ्यौली लाग्ने अवस्था सृजना भएको छ । विश्वविद्यालयको लापरवाहीकै कारण कतिपय विद्यार्थीहरु बिचमै पढाई छाडेर विदेशिन बाध्य छन् । पढिरहेकाहरु पनि खुशि छैन् । अब त्यति गरेसि भविष्यमा के गर्ने भन्ने अन्यौलता र पछुतो बाहेक अरु केहि देखिदैन उनिहरुमा …….. ‘ शिक्षा भविष्य सुन्दर बनाउने आधार हो ’ तर त्यहि शिक्षा अब विद्यार्थीलाई डिप्रेशनको प्रमुख कारण बन्दै गएकोे छ ।
यसविषयमा हामीसंग धेरै विद्यार्थीहरुले गुनासो गरेपछि हामीले त्रिभुवन विश्वविद्यालयका जिम्मेवार पदाधीकारीसगं सम्पर्क गर्ने कोशिस ग¥यौ तर कसैसंग सम्पर्क हुन सकेन । हरेक सरकारी निकायको अफिसियल वेवसाईटमा त्यहाँको अफिसियल सम्पर्क नम्बर सहित केहि जिम्मेवार पदाधीकारीहरुको नम्बर राखिएको हुन्छ । तर त्रिभुवन विश्वविद्यालय जस्तो देशकै ठुलो शैक्षिक धरोहरको वेसाईटमा सुचना अधिकारीको नम्बर समेत राखिएको छैन । त्यहाँ राखिएको ल्यान्डलाईन नम्बरमा फोन गर्दा विश्वविद्यालयमै कार्यरत एक कर्मचारीले समेत वेवसाईटमा सुचना अधिकारीको नम्बर नै उल्लेख नगरिँदा आफुहरुलाई पनि अचम्म लागेको बताईन् । ‘त्यहि त सुचना अधिकारीको नम्बर त राख्नुपर्ने हो खै किन राखिदैन , अब हामीले बोल्न मिल्दैन यहाँहरुले नै यसविषयमा बोल्नुप¥यो ।’
विभिन्न प्रयासका बावजुत बल्ल तल्ल सुचना अधिकारीलाई हामीले सम्पर्क गर्न सफल भयौं । टेलिफोन सम्पर्कमा त्रिभुवन विश्वविद्यालयका सुचना अधिकारी योगेन्द्र प्रसाद दाहाल भन्नुहुन्छ ‘ यो हाम्रो डिपार्टमेन्टमा पर्दैन हजुर…. यो संग सम्बन्धित डिर्पाटमेन्टमा सम्पर्क गर्नुहोस् न है । ’
ओहो ! कति सजिलो छ है जवाफ दिन ? यहाँ लाखौं विद्यार्थीहरुको भविष्य अन्योलमा छ । यस्तै शैक्षिक प्रणालीका कारण आज कयौं विद्यार्थीहरु आत्महत्याको बाटो समेत रोज्न बाध्य छन् तर विश्वविद्यालयका पदाधिकारीलाई आफ्नो पद भए पुग्यो । विद्यार्थीहरुको के मतलब हैन ?
त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयको झन् कुरै गरि साध्य छैन । एक त हत्तपत्त परिक्षाको मिति नै तोक्दैन ,बल्ल बल्ल परिक्षा मिति सार्वजनिक गर्छ त्यो पनि अन्धाधुन्ध.. मासिक पात्रोमै नभएको मिति राखेर परिक्षा तोकिन्छ । आखिर किन यति धेरै लापरवाही ? कति लापरवाही ? अनि कहिलेसम्म लापरवाही ?
आफ्नो जिम्मेवारी पुरा गर्न नसक्ने व्यक्तिहरुलाई आखिर किन जिम्मेवारी दिन्छ टियुले ?
शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनिति नहुनु पर्ने हो तर नेपालको सन्दर्भमा सबैभन्दा बढि राजनिति हुने क्षेत्र भनेकै शिक्षा क्षेत्र हो । हरेक पटक सरकार फेरिदा टियुका उपकुलपति फेरिन्छन् । ति उपकुलपतिलाई आफुले के गर्ने ? टियुलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुनै ज्ञान हुँदैन र पनि आफु निकट पार्टीको नेतृत्व सरकारमा आउने बित्तिकै पद ओगट्न पुगिहाल्छन् ।
टियु जस्तो देशकै शैक्षिक धरोहर सम्हाल्ने व्यक्ति शिक्षा क्षेत्रमा अनवरत खटिएका,यस क्षेत्रको चासो, चिन्ता, अनि अनुभव भएका व्यक्ति हुनुपर्ने हो तर बिडम्बना टियुको नेतृत्वकर्ता पार्टीगत हिसाबले नियुक्ति हुन्छन् । अनि आम जनताले नेपालको शिक्षा प्रणाली सुधारको के अपेक्षा गर्नु ?

English
MTV NEPAL MTVNEPAL


