केही विश्वचर्चित व्याक्तिका अनौठा बानीहरु थाहा पाउनुहोस्

हरेक मानिससँग आआफ्नै बानी तथा स्वभावहरु हुन्छन् । त्यसकारण प्रत्येक मानिसमा फरकपना पाइन्छ । मानिसका स्वभाव तथा बानीहरु केही मिल्दाजुल्दा भएपनि सबै बानी एउटै भएका मानिस पाउन मुस्किल नै पर्दछ । कसैका बानी कसैलाई अनौठो लाग्न सक्छ । विश्वमा धेरै किसिमका मानिस छन्, कोही मानिस चर्चित छन् भने कोही मानिस सामान्य छन् । चर्चित मानिसको सफलतामा एउटा कारण अवश्य लुकेको हुन्छ । आनीबानी तथा स्वभावबाट मानिसको जीवनको बाटो निर्धारण पनि हुन्छ तसर्थ यहाँ विश्वका चर्चित मानिसका अनौठा बानीहरुको बारेमा जानाकारी गराइएको छ जसबाट हामीले केही न केही असल बानीहरुको अनुकरण गरेर हाम्रो जीवन थप सफल पनि बनाउन सक्छौ ।

नरेन्द्र मोदी थोरै सुत्ने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नेताहरूमा निकै सक्रिय र ऊर्जाशील नेताका रूपमा चिनिन्छन् । हरेक दिन २० घण्टासम्म काममा खटिने उनको बानी छ । निकै थोरै समय सुत्ने भएकाले उनलाई डाक्टरहरूले निद्राको समय बढाउन पटक–पटक सुझाब दिइसकेका छन् । एक अन्तर्वार्तामा मोदीले आफ्नो काम र निद्राको तालिका सार्वजनिक गरेका थिए । उनको सुत्ने समय जम्मा साढे तीन घण्टा हो । तर, ओछ्यानमा गएको ३० सेकेन्डमै उनी गहिरो निद्रामा पुग्न सक्छन् ।
नियमित ध्यान गर्ने बानी उनको छ । हरेक दिन बिहान कम्तीमा १० मिनेट उनले ध्यान गरेकै हुन्छन् । आफू स्वस्थ रहनु र कम सुत्दा पनि ‘तनाव’ महसुस नहुनुको कारण नियमित ध्यान नै भएको उनले बताएका छन् ।

भ्लादिमिर पुटिन बडी देखाउनुपर्ने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बानी अनौठो छ । उनी राजनीतिबाहेक धेरै पाटोमा पोख्त मानिन्छन् । केही बानीले उनको दैनिकीमा प्रभाव जमाएका छन् । उनको एउटा बानी हो, जिम गर्नैपर्ने । बडीबिल्डर नेताका रूपमा चिनिने पुटिनले आफ्नो शरीर र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छन् ।

उनको बिहान चाडै उठ्ने बानी छ । सबेरै उठेर नुहाएपछि उनी शारीरिक कसरतमा व्यस्त हुन्छन् । एकदेखि दुई घण्टा जिमलगायत कसरत गर्छन् । तन्दुरुस्तीका लागि गर्ने शारीरिक कसरत उनी ब्रेकफास्टअघि नै सकाउँछन् ।

खाजा लिएपछि कार्यालयको काममा व्यस्त हुने उनको राति सुत्ने रुटिन पनि सधैँ एकै खालको हुँदैन । काममा मुख्य ‘फोकस’ हुने पुटिन तब मात्रै ओछ्यानमा जान्छन्, जब आफ्ना सबै काम फत्ते गर्छन् । यसैले त उनी ‘स्टालिनभन्दा कडा परिश्रमी’ भनेर चिनिन्छन् ।

मनोमहन सिंह काममा खटिने
सन् २००४ देखि २०१४ सम्म भारतमा दुई कार्यकाल प्रधानमन्त्री भएका राजनीतिज्ञ हुन्, मनोमहन सिंह । उनको परिचय कामप्रेमी नेताका रूपमा चर्चित छ । दुई कार्यकालमा उनले आफ्नो जिम्मेवारीप्रति देखाएको लगावका आधारमा उनलाई ‘वर्कहोलिक’ नेताको उपमा नै दिइयो ।

बिहान सबेरदेखि साँझ अबेरसम्म उनी काममै खटिन्थे । छिटो उठ्ने, योग र नित्यकर्म सकेपछि काममा निस्कहाल्ने उनको नियमित रुटिन त्यतिवेला थियो । उनी राति ९–१० बजेसम्म पनि काम गर्थे । तर, दिउँसो केही बेर आराम गर्नुपर्ने उनको बानी थियो । तर, झकाएको ५–१० मिनेटमै फ्रेस हुन सक्थे । अहिले त्यो राजनीतिक पदमा नरहे पनि र उमेरले ८५ वर्ष कटे पनि आफ्नो व्यक्तिगत कामप्रति उनको जिम्मेवारी उस्तै छ ।

बाराक ओबामा शरीर फिट राख्नुपर्ने
बाराक ओबामाले अमेरिकाको राष्ट्रपति पदमा रहेर दुई कार्यकाल काम गरे । यो अवधिमा उनको स्वभावबारे विश्व नजिकबाट परिचित भयो । शारीरिक तन्दुरुस्तीको सवालमा ओबामाको बानी पुटिनसँग केही हदसम्म मेल खान्छ । उनी स्वास्थ्य र शारीरिक ‘फिटनेस’मा निकै नै सचेत मानिन्छन् ।

बिहान सबेरै उठेपछि झन्डै एक घण्टा समय जिम गर्नु उनको दैनिक तालिकामै पर्छ । राष्ट्रपतिको जिम्मेवारीमा रहँदा पनि उनको यो तालिका तलमाथि परेन । शारीरिक कसरतपछि नित्यकर्म सकाएर उनी ९ः३० बजे कार्यालय पुगिसक्थे । अन्य साधारण जागिरजस्तै ६ः०० बजेसम्म नै काममा व्यस्त रहन्थे ।

अफिसमा सामान्यभन्दा सामान्य काम पनि आफैँ गर्न रुचाउने उनी अहिले पनि आफ्नो शारीरिक तन्दुरुस्तीमा उत्तिकै ‘कन्सस’ छन् ।

 

स्टिभ जब्स एकै कुरामा भुल्ने
एम्पल कम्पनीका पूर्वसिइओ हुन्, स्टिभ जब्स । सन् २०११ मा निधन भएका जब्सको केही बानी अनौठा थिए । एकै किसिमको काम गरिरहने अनौठो आदत उनको थियो । यो आदत उनको खानपानमा पनि देखिन्थ्यो ।

यही बानीका कारण उनले एकपटक लगातार एक हप्तासम्म गाजर मात्रै खाएका थिए । नियमित गाजर खाँदा अनुहारमा चमक आउने टिप्स प्राप्त गरेपछि उनले आफ्नो खाना बदलेर गाजर मात्रै खाएका थिए । यस्तै बानीका कारण उनले एकपटक कैयौँ दिनसम्म एउटै रङको टिसर्ट लगाएका थिए ।

योसिरो नाकामात्सु जोखिम रुचाउने
८९ वर्षीय जापानी वैज्ञानिक योसिरो नाकामात्सु पानीमा हामफाल्न तथा ज्यान जोखिममा राख्न मन पराउँछन् । खतराको अन्तिम अवस्थामा मात्रै उनलाई नयाँ ‘आइडिया’ आउँछ । नाकामात्सुले एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई राम्रो आइडिया तब आउँछ, जब म मृत्युको नजिक हुन्छु ।’ उनले फ्लपी डिस्कसहित तीन हजारभन्दा बढी प्रतिपादन गरेका छन् ।

मार्क जुकरबर्ग संकल्पअनुसार चल्ने
फेसबुकका सिइओ मार्क जुकरबर्ग हरेक वर्षको सुरुवातमै वर्षभरिको आफ्नो संकल्प तय गर्छन् । यो बानीमा चल्ने उनी कहिलेकाहीँ अचम्मको संकल्प पनि गर्छन् । सन् २०११ मा उनले आफ्नै हातले मारेको मासु मात्रै खाने संकल्प गरेका थिए । २००९ मा हरेक दिन टाई लगाएरै अफिस जाने संकल्प उनले पूरा गरेका थिए । यो वर्ष उनले वर्षभरिमा तीन सय ६५ माइल दौडिने संकल्प बनाएका छन् ।

बिल गेट्स कुर्सीमा झुल्ने
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स लामो समयसम्म विश्वकै पहिलो धनी व्यक्तिमा परे । अहिले, अमेजनका संस्थापक जेफ बेजोसपछि उनी दोस्रो धनी व्यक्ति हुन् । सफल व्यक्ति बिल गेट्सको एउटा बानी अचम्मको छ । उनी आफ्नो कुर्सीमा बस्दा झुलिरहेका हुन्छन् । तनाव होस् या आनन्द, कुर्सीमा बस्दा झुल्ने उनको बानी नै हो । कलेज पढ्दादेखि नै उनको यो बानी निरन्तर छ ।

महात्मा गान्धी तेल मसाज गर्नैपर्ने
भारतलाई बेलायतको उपनिवेशबाट मुक्त दिलाउन महात्मा गान्धीले गरेको त्यागको चर्चा अहिले पनि विश्वभर हुन्छ । अहिंसात्मक आन्दोलनका अगुवा गान्धीका केही बानी रोचक लाग्छन् । बिहान ४ बजे नै उठ्नुपर्ने उनी उठेलगत्तै प्रार्थना र योग गर्थे अनि अघिल्लो दिनको डायरी लेख्थे । ७ बजेसम्म मर्निङवाकमा निस्किसक्थे । पाँच किलोमिट ढुंगेबाटो हिँड्नु उनको दैनिकी थियो । त्यसपछि आश्रम गएर नित्यकर्म तथा स्नान गरेपछि तेल मसाज गर्नैपर्ने उनको बानी थियो । गान्धीको शरीरमा तेल मसाज कहिल्यै छुट्दैनथ्यो ।

हिटलर बिहान ३ बजे सुत्ने
जर्मन शासक एडफ हिटलरको पहिचान हिंस्रक र रिसाहा राजनीतिज्ञका रूपमा थियो । तर, उनी शाकाहारी थिए । उनी सधैँ दिउँसो २ः३० तिरमात्रै आगन्तुकसँग बसेर शाकाहारी भोजन गर्थे । बिहानको खाजामा पनि कफी र सामान्य ब्रेड मात्रै लिन्थे । आलु र सागसब्जी मन पराउने हिटलर कहिलेकाहीँ भने डिनरमै वाइन पिउँथे ।

दिनभर भेटघाटमा व्यस्त हुने हिटलर आफ्ना योजना भने रातिको समयमा बनाउँथे । रातभर उनी यति धेरै काम गर्थे कि सुत्ने नियमित तालिका बिहान ३ बजेका लागि मात्रै तय गरेका थिए ।

विस्टन चर्चिल बिहानै ह्विस्की चाहिने
दोस्रो विश्वयुद्धताका चर्चित बेलायती शासक विस्टन चर्चिलको जीवनशैली पनि अनौठो थियो । दुईपटक बेलायतको प्रधानमन्त्री बनेका चर्चिललाई बिहान उठेलगत्तै ह्विस्की पिउनुपथ्र्यो । उनी प्रायः ७ बजेतिर उठ्थे । सेवकमार्फत ओछ्यानमै ह्विस्कीसँगै खाजा र पत्रिका पुग्थ्यो । उठेर नुहाएपछि फेरि एक पेग ह्विस्की सिध्याउँथे । दिनभरको काम सकेर डिनर लिएपछि पनि उनलाई ह्विस्की तान्नैपथ्र्यो ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com