करिब ३ महिना अघि नेपाली चलचित्र “अैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो गरेकि थिईन् । उनको सबैभन्दा ठुलो गुनासो नेपाली हल संचालकसंग थियो । कलाकारहरुलाई मोटो पारिश्रमिक दिएर बनाएको त्यसैमाथि आफु लगायत सम्पुर्ण टिमले धेरै नै मेहनत गरेर निर्माण गरेको चलचित्र भएपनि हलमा लागेको हप्ता दिन पनि नबित्दै हलहरुले चलचित्रको शो नै घटाईदिए पछि उनले आफुलाई निकै चित्त दुखेको बताएकी थिईन । “यो हामीले अहिले मात्रै होईन पहिल्यैदेखि भोग्दै आएको समस्या हो , हामीमा केहि कमजोरी भएपनि एउटा चित्त बुझाउने बाटो हुन्थ्यो तर दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको चलचित्रलाई नै एक हप्ता नहुँदै विभिन्न सिनेमा हलहरुले शो घटाई दिए । ”
त्यतिबेला बलिउडका किंग खान भनेर चिनिने शाहरुख खान अभिनित चलचित्र “जवान” का कारण कृशाद्धारा निर्देशित चलचित्र “अैंचोपंैचो” मारमा परेको थियो । “अैंचोपंैचो” मात्रै होईन वर्तमान परिस्थितिमा हरेक नेपाली चलचित्र नेपाली हलमै हलिउड र बलिउड चलचित्रको चेपुवामा पर्ने गरेका छन् ।
एकचोटी नेपाली सिनेजगतको ईतिहासलाई हेरौं …..
यसो त नेपाली सिनेमाले चार दशक भन्दा लामो इतिहास पार गरिसकेको छ । नेपाली भाषामा निर्मित पहिलो चलचित्र “सत्य हरिश्चन्द्र” विंस २००८ सालमा भारतमा निर्माण गरि प्रर्दशन गरिएको भएपनि नेपालमा निर्मित पहिलो चलचित्र भनेको “ आमा ” हो । जुन चलचित्र वि.सं २०२२ असोजमा पहिलोपटक प्रदर्शन भएको थियो ।
२०२७ मा सरकारले नै शाही नेपाल चलचित्र संस्थान स्थापना गरेर चलचित्र निर्माण गरेको ईतिहास छ । २०३६ पछि भने धेरै रचनात्मक चलचित्रहरू निर्माण हुन थालेपछि यसको फलस्वरुप विभिन्न निर्माण कम्पनिको आगमन शरु भएको र धेरै सिनेमा बन्न थालको देखिन्छ । यस हिसाबले नपाली सिनेमा क्षेत्रले २०३६ देखि नै व्यवासायिक रुप लिएको देखिन्छ ।
कुनै समय द्धन्द्धकालको चपेटामा समेत परेको नेपाली सिनेमा जगतले धेरै राम्रा कलाकारहरुलाई गुमाउन पुग्यो । त्यतिबेला धेरैजसो कलाकार विदेशिए भने बाँकी रहेका केहि कलाकारले नै सिंगो सिनेमा जगतको जिम्मेवारी सम्हाले ।
त्यसरी विभिन्न आरोह अवरोहकाबिच पनि नेपाली सिनेमा जगत वर्तमान अवस्थामा आई पुग्दा सम्म परिस्थिति धेरै फेरिएको छ ।
चलचित्र सम्बन्धि विभिन्न ऐन बनेका छन् ÷नियम बनेका छन् भने यस क्षेत्रलाई नियमन गर्नका निमित्त नै राज्यले अर्बौ खर्च गरेर २०५७ असार १६ गते नेपाल चलचित्र बिकास बोर्डको स्थापना गरेको छ ।
अब एकपटक पहिले र अहिलेको कलाकारिता र कलाकारको फेरिएको अवस्था नियालौं….
कुनै समय नेपाली सिने क्षेत्रमा यस्तो थियो कि कलाकारहरु ठुलो पर्दामा काम गर्ने पाए अत्यन्तै कम शुल्कमै काम गर्न तयार हुने गर्दथ्ये । जसरी पनि आफ्नो कला देखाउन पाए भन्ने त्यतिबेलाका कलाकारलाई हुने गर्दथ्यो । कयौं दिग्गज कलाकारहरुले त कतिपय सनेमामा एक रुपैंया पारिश्रमिक पनि नलिकन काम गरेको भन्दै बेलाबेला विभिन्न अन्र्तरवार्तामा आफ्ना अनुभव सुनाउने गरेका छन् । सहायक कलाकारको त कुरै छोडौं सिनेमाका मुख्य कलाकारहरुले समेत कुनै कुनै सिनेमामा निःशुल्क नै काम गरेको कुरा पहिलेका निर्माताले सम्झिन्छन् । यसो हेर्दा सबैले कला क्षेत्रलाई जोगाई राख्न आ–आफ्नो ठाउँबाट केहि न केहि योगदान गरेको देखिन्छ । अहिलेको जस्तो प्रवृधिको विकास नभएको र कलाकारिता क्षेत्रलाई समाजले त्यति प्राथामिकतामा नराखेको त्यो अवस्थामा पनि राम्रा राम्रा सिनेमाहरु बनेको हामीले ईतिहास नियाल्न सक्छौं । त्यति बेला न अहिलेको जस्तो प्रवृधि थियो ,न त अहिलेको जस्तो सेटमा जानुभन्दा पहिल्यै कलाकारहरुलाई अभिनयको प्रशिक्षण दिने व्यवस्था थियो । न त अहिलेको जस्तो मेकअप ,मेकअप आर्टिस्ट, न त अहिलेका सिनेमामा देखिने फेसनबेल कस्ट्युम ।
तर पनि विभिन्न अभावकाबिच पनि निर्माताहरुले राम्रा राम्रा सिनेमाहरु बनाएका थिए भने विभिन्न दबाबकाबिच पनि कलाकारहरुको निकै सुन्दर प्रस्तुति हुने गर्दथे ।
तर अहिले त्यस्तो छैन । प्रवृधिको विकास दिन दुई गुणा रात चौगुणाले भईरहँदा कलाकारिता क्षेत्र अब पेशाका रुपमा चिनिन सफल छ । कलाकारिता क्षेत्रबाटै गाउँबाट एकजोर चप्पल लगाएर आएकाले अहिले राजधानिमै महल ठड्याईसकेका छन् । पर्दामा मात्रै होईन विभिन्न मेला महोत्सव पनि कलाकारहरुको मुख्य आम्दानीको श्रोत बनिरहेका छन् । कलाकारिताबाट पाएको प्रख्यातिलाई प्रयोग गरेर विभिन्न व्यवसाय सञ्चालन गरेकाको आम्दानीको त हिसाब गरेर झन् साध्य नै छैन ।
कतिले त आफ्नो कलाकारिता नभए पनि अहिलेको सबैभन्दा चर्चित ट्रेन्ड जसोतसो सामाजिक सञ्जालमा राम्रो फलोअर्स बटुल्यो । अनि कसैले कुनै प्रोजेक्टमा अफर गरेको खण्डमा त्यहि अनुसारका पारिश्रमिक डिमाण्ड ग¥यो ।
तर के यति हुँदैमा चार दशक भन्दा लामो इतिहास बनाईसकेको नेपाली चलचित्रले सम्पुर्ण नेपाली दर्शकको मन जित्न सकेको छ त ? घरजग्गा धरौटीमा राखेर चलचित्र निर्माण गर्ने निर्माताले न्याय पाएका छन् त ?
अहिले तपाईले विभिन्न समाचारहरुमा सुन्नुभएको होला ..फलानो हिरोले फलानो चलचित्रमा काम गर्न ५० लाख पारिश्रमिक लियो । फलानोले ३० लाख लियो । फलानी नायीकाले फलानो चलचित्र २० लाखमा साईन गरिन ।
के साँच्चै चलचित्रमा हिरो÷हिरोईनले महँगो पारिश्रमिक लिदैंमा चलचित्र सफल हुने हो त ?
यदि त्यसो हुने हो भने त चलचित्रमा २ जना बाहेक अरु कलाकारहरु किन आवश्यक प¥यो ?
त्यति मात्रै होईन चलचित्र निर्माण गर्नु भाडाँकुटी खेले जस्तो होईन । कुनै एक चलचित्र पुर्ण रुपमा निर्माण हुन कम्तिमा पनि ३ साढे ३ महिना लाग्ने नै गर्छ । कतिपय चलचित्र निर्माण हुन त वर्षदिन पनि लाग्ने गर्छ ।
त्यसमा पनि प्रवृधि त मुख्य पाटो भईहाल्यो , कलाकारहरु, व्यवस्थापन टिम , मेकअप,मेकअप आर्टिस्ट ,स्पट पर्सन, कस्ट्यूम डिजाईनर , लोकेसेन ,प्रि प्रोडक्सन, प्रोडक्सन यस्ता अनेक पाटा हुन्छन् । त्यसका लागि त्यतिनै संख्यामा जनशक्ति चाहिन्छ । अनि मुख्य दुई कलाकारलेनै चलचित्रको आधा बजेट डिमाण्ड गरेपछि निर्माताले कसरी चलचित्र बनाउने ? यो सोच्ने कस्ले ? कलाकारहरुले पनि बुझ्नु आवश्यक छ÷छैन ? निर्माताले चलचित्र निर्माण गर्नै छाडेपछि कलाकारले के काम पाउने ? कसलाई डिमाण्ड गर्ने ? सोच्नु पर्दैन ? आफु बाँच्न पहिला आफ्नो क्षेत्र बचाउनु पर्दैन ?
अझं सबैभन्दा धेरै भार त चलचित्र प्रर्दशनमा आएपछि हुन्छ । नेपाली चलचित्रको बजार, विदेशी चलचित्रले मोहित दर्शक , कमिसनको आडमा चलेको हलवालाको सामना …कस्ले बुझ्ने यो पिडा ?
के यस्तै अवस्था भईरहने हो भने नेपाली चलचित्र निर्मातालाई नयाँ चलचित्र निर्माण गर्ने आँट आउला त ? यो बिचमा सबैभन्दा आश्चर्य कुरा त भने के छ भने । चलचित्र जगत आरालो लागिरहेको यो अवस्थामा चलचित्रको विकास गर्नकै लागि स्थापना गरिएको चलचित्र बिकास बोर्डले केहि गरेको देखिदैन । यस क्षेत्रका लागि सरकारले गरेको लागानि के मा खर्च भईरहेको छ आँखिर ? यो अत्यन्तै सोचनिय विषय रहेको छ ।

English
MTV NEPAL MTVNEPAL


