विदेश नभई स्वदेशमै ज्यान गुमाउने नेपालीको संख्या बढी,,सडक दुर्घटनाबाट मात्रै वर्षेनि २८०० बढीले अकालमै गुमाउँछन् ज्यान सरकारकै उपेक्षाका कारण नेपालका सडकहरुको शुधार हुन नसकेको हो ?

नेपालमा दिनुँहु जसो सवारी दुर्घटना भईरहेका हुन्छन् जसबाट बर्षेनी हजारौ नेपाली जनताले अकालमै ज्यान गुमाईरहेका छन् ।
हामीले प्रायः विदेश गएर ज्यान गुमाएका नेपालीका खबरहरुलाई मात्रै प्राथामिकतामा राख्छौं । वर्षेनि यति नेपालीले विदेशमा ज्यान गुमाए उति नेपालीको मृत्यु भयो भन्ने समाचारहरु बढी सुन्ने गर्छौं ।
त्रिभुवन विमानस्थलबाट कति नेपालीको लास आयो भन्ने हिसाब गरिरहँदा सडक दुर्घटनामा परि नदीमै विलाएका , पहिचान नै नखुल्ने गरि अंगभंग भएका मृत शशिरको हिसाब गरिदैँन ।

के साँच्चै हामीले कहिल्यै सोच्यौं स्वदेशमै कति नेपालीले अकालमै ज्यान गुमाईरहेका छन् ?

हरेक वर्ष नेपालमा २८ हजार बढी सडक दुर्घटना हुने गरको छन् । दैनिक ६ देखी ९ जनाको दुर्घटनाकै कारण मृत्यु हुने गरेको छ भने वार्षिक २८ सयले बढीले ज्यान गुमाउँने गरेका छन् । दुर्घटनाकै कारण साढे पाँच हजारभन्दा बढी नेपाली गम्भिर घाईते हुन्छन् । दिर्घकालिन रुपमा अशक्त बनेर बाँच्न बाध्य हुन्छन् ।

सडक दुर्घटनाकै कारण वर्षैनी हजारौ जनता प्रताडित हुुँदा दुर्घटना र क्षतिको ग्राफ भने हरेक वर्ष अंझै बढ्दो क्रममा छ ।

दुर्घटनाका कारण भयावह मानविय क्षति संगै राज्यले वर्षेनी अर्बौ रुपैयाँ पनि गुमाउदै आएको छ । वार्षिक १५ अर्ब बढी राज्यले सवारी दुर्घटनाकै कारण गुमाउने गरेको छ । यो त प्रहरीमा दर्ता भएको दुर्घटनाको घटनालाई मात्रै आधार मान्दा देखिएको क्षति हो । प्रहरीमा दर्ता भएको सवारी दुर्घटनाका यस्ता घटना कुल सवारी दुर्घटनाको करिब २० प्रतिशत मात्रै हो । यसै विवरणलाई नियाल्ने हो भनेपनि ८० प्रतिशत सवारी दुर्घटनाका घटना प्रहरी समक्ष पनि पुग्दैनन् । अब हामी आफैं मुल्यांकन गरौं राज्यले वर्षेनि कतिको दरमा मानविय तथा आर्थिक क्षति व्यहोरिरहेको छ ?

हरेक ठूला सवारी दुर्घटनापछि सरकारले छानबिन समिति बनाउँछ तर सुझावसहितका प्रतिवेदन कहिल्यै कार्यान्वयन नभईकनै सेलाउँछन् । किन ?

नेपालमा भइरहने सडक दुर्घटनाका विभिन्न कारणहरु छन् जसमध्ये पनि मानवीय कारण,सवारी साधनको अवस्था तथा यान्त्रिक कारण र सडकसम्बन्धी कारण प्रमुख हुन् …..यी ३ नै दुर्घटनाको अति नै मुख्य कारण हुन तर नेपालको परिप्रेक्ष्यमा भने मानविय कारणलाई नै मुख्य कारण मानिन्छ । कतै सवारी दुर्घटना भयो सबैको माईन्ड सेट भैईहाल्छ पक्कै पनि चालकले मापसे गरेर गाडी चलायो होला …नेपालमा हुने हरेक सवारी दुर्घटनाको मुख्य दोषी सवारी चालक(ड्राईभरलाई ) ठानिन्छ । ट्राफिकले पैसा खाएर आवश्यक चेकजाँच नगरि सवारी चल्न दिई दुर्घटना भयो ड्राईभरकै दोष ,सवारी साहुलाई फाईदा मात्रै चाहिएको छ सवारी मर्मत गर्नुछैन । दुर्घटना भयो चालककै दोष.. आंगै सिरिंग हुने सडकमा आफ्नो ज्यान,परिवार सबैको माया मारी गाडी चलाउनुपर्छ । बच्चा बाउको आशमा छन् कि श्रीमति कुरि राखेकी छन् की ? बा–आमा बाटो हेर्दै छन् । सब कुरा भुलेर यात्रुलाई यात्रुलाई सकुशल गन्तव्यमा पु¥याउनु छ । के ही गरि साँघुरो खोल्सामा गाडी फस्यो ड्राईभरकै दोष ….यति भन्दै गर्दा सवारी दुर्घटनामा ड्राईभरको कुनै गल्ति नै हँुदैन भन्ने चाँही होईन । तर चालकलाई मात्रै दोष दिईरहँदा अन्य कारण चाँही विर्षनु भएन भन्ने हो ।

सवारी चालकलाई मात्रै दोषी देख्नेले । थोरै आर्थिक प्रलोभनमा परि आफ्नो ड्युटी सहि तरिकाले पुरा नगर्ने ट्राफिकलाई पनि देख्नुप¥यो । फाईदा मात्रै हर्ने यात्रुको सुरक्षाको प्रवाह नै नगर्ने यातायात व्यवसायीलाई देख्नुप¥यो । हरेक बर्ष राज्यको ढकुटीमा सडक करको नाममा करोडौं रुपैयाँ जम्मा हुन्छ । सडकलाई तिरेको कर सडकसम्म पुग्न नदिई सडकको नाममा फोहोरि राजनिति गर्ने ब्युरोक्रेसिलाई पनि त दोषि देख्नु प¥यो ।

के यी सबै दोषी होईनन र ?

यसैबाट प्रष्ट हुन्छ कि नेपालमा सडक सुरक्षालाई राज्यले कहिँकतैबाट पनि प्राथमिकतामा राखेको देखिँदैन ।

यातायात व्यवस्था विभागका सुचना अधिकारी ईश्वरीदत्त पनेरु सवारी दुर्घटनाको विषय यातायात व्यवस्था विभाग अन्तर्गत नपर्ने बताउनुहुन्छ । हामीसंगको टेलिफोन सम्पर्कमा पनेरुले भन्नुभयो “यातायात व्यवस्था विभाग केहि हदसम्म मात्रै सरोकारवाला निकायका रुपमा पर्छ तरे यसको मुख्य जिम्मेवार निकाय भनेको सडक विभाग , नेपाल प्रहरी तथा ट्राफिक प्रहरी हुन् । ” उहाँले सडक दुर्घटनाको तथ्यांक यातायात व्यवस्था विभागसंग नहुने बताउनुभयो ।
सुचना अधिकारी ज्यु हामीले तपाईंलाई तथ्यांक होईन सडक दुर्घटना कम गर्न यहाँहरुको के भुमिका निभाउनुभाको छ भनेर सोधेका हौं । यातायातको व्यवस्थापन गर्ने त विभागकै काम होला नी ? कि कसो ? मनोमानी तवरले ल्याइएको यातायात निति, व्युरोक्रेसि मात्रै मोटाउने सिस्टम ले गर्दा यातायातको उचित व्यवस्थापन हुन सकेको छैंन । आज वर्षेनि हजारौं यात्रुको अकालमै ज्यान जाने गरेको छ ।
यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित गराउने जिम्मेवारी त यहाँहरुकै होला नी ?

यता सडक विभाग भने सरकारको कमजोरीका कारण सडक दुर्घटना बढेको भन्दै पन्छिन खोज्छ । सडक विभागका सुचना अधिकारी अमित कुमार शर्माले सडकहरुको समयमै निर्माण हुन नसक्नु र सडक दुर्घटना बढ्दै जानुमा विभागको मात्रै नभएर सम्बन्धित सबै निकायको कमजोरी रहेको बताउनुभयो । “हामीले त सडकको इन्फास्टक्चर मात्रै हेर्छौ नितिगत कुरा हेर्ने यातायात व्यवस्था विभागको काम हो । सम्पुर्ण अधिकार हामीलाई छैन यस्ता धेरै निकाय छन् । सबैसंग समन्वय गर्दै बढ्नुपर्ने भएकोले सोचे अनुरुपको काम हुन सकेको छैन ।”सडक दुर्घटना बढ्नुको ठ्याक्कै यहि कारण हो भनेर भन्न नसकिने उहाँको भनाँई छ ।
सरकारले रोड सेफ्टिको निति ल्याएको भएपनि यो अहिले विचाराधिन अवस्थामा रहेकाले पनि धेरै कुरा रोकिएको उहाँ बताउनुहुन्छ । “सरकारले रोड बोर्ड नेपालको खाका पनि तयार पारेको छ । तर त्यसमा आवश्यक बजेटनै छुट्याउदैन अनि रोडको सुधार कसरी हुन्छ । यसवर्ष त यसमा १ रुपैयाँ पनि बजेट छुट्याएन । हामीले भौतिक पुर्वाधार संगै अर्थमन्त्रालय संग पनि पटकपटक छलफल गरेका छौं तर सोचे अनुरुपको नतिजा आउन सकेको छैन । ”

त्यसो भए सरकारकै उपेक्षाका कारण नेपालका सडकहरुको शुधार हुन नसकेको हो त ?

यता सवारी चालकको पिडा कस्ले बुझ्ने ?
नेपालगंजका सन्तोष थापाले ८ वर्ष भयो लामो दुरी सवारी चलाउन लागेको .. उनि धनगढी – काठमाडौं रुटको बस चलाउँछन् । भगवानको कृपाले आजसम्म त्यस्तो ठुलो दुर्घटनामा नपरेपनि उनले त्यस्ता कयौं दुर्घटना आफ्ना आँखै अगाडी देखेका छन् । आफुजस्तै सवारी चालक दुर्घटनामा परि छट्पटाउँदै प्राण त्याग्दा उनको आत्माले पनि कयौं पटक शरिर छोडन खोज्छ तर के गर्नु काम हो .. आफ्नो जिम्मेवारी पुरा गर्नैप¥यो । सबैभन्दा बढी मन त उनको त्यतिबेला कुडिँन्छ जतिबेला कुनैपनि सवारी दुर्घटना हुने बित्तिकै सबैभन्दा ठुलो दोषी सवारी चालकलाई मानिन्छ ।
“हामी सबै सवारी चालक सहि छौं नै भनेको होईन तर हामीले पनि आफ्नो ज्यान दाउमा लगाएका हुन्छौं । आफु घरमा पुग्छौं पुग्दैनौ टुंगो हुदैन तर आफ्नो जिम्मेवारीका रुपमा रहेका यात्रुलाई कसरी सुरक्षित गन्तव्यमा पु¥याउने चिन्ता हुन्छ ।”
नेपालको सडक दुर्घटनाको मुख्य कारण भनेको राजनितिलाई मान्नुहुन्छ उहाँ …“यो सबै राजनितिले हो । नेपालको राजनिति राम्रो भईदिएको भए आज हाम्रा बाटोघाटो राम्रा हुन्थ्ये । हरेक कुरा व्यवीस्थत हुन्थये । आज देशमा नियम एउटा छ व्यवहार एउटा छ अनि कसरी राम्रो हुन्छ ? राजनिति बिग्रेको कारण आज देशको हरेक क्षेत्र बिग्रेको छ । ”

सुर्खेतका हेमराज आचार्य करिब ७ महिना बढी भयो यातायात क्षेत्रमा जोडिएको …उहाँ सुर्खेत काठमाडौं चल्ने रात्रि बसमा सहचालकका रुपमा काम गर्नुहुन्छ । तर यो ७ महिनाकै अवधिमा उहाँले धेरै कुरा सामना गरिसक्नुभएको छ । नेपालमा सवारी दुर्घटनाको मुख्य कारण नै नेपालको बाटोघाटो रहेको उहाँको विश्लेषण छ ।
“मेन त बाटोघाटो नै हो । बाटोघाटो नै खराब भएकोले बढी दुर्घटना निम्तिन्छ । ” केहि हदसम्म सवारी चालकको पनि दोष हुने कुरालाई उहाँ पनि स्विाकार्नु हुन्छ .. “हो सबैलाई गन्तव्यमा पुग्न हतार हुने भएको ले पनि यस्ता घटना निम्तिन्छन् । तर दुर्घटना भईपरि आउने कुरा हो । कुनै एउटाको गल्तिले मात्रै दुर्घटना हुँदैन । ”

डरलाग्दो बाटो त छँदै थियो त्यसैमाथि गन्तब्यमा भेटिने ट्राफिक प्रहरीको मनपरि नियमले पनि अािजत हुनु भएको छ उहाँ …“ सबैलाई त त्यस्तो भन्न मिल्दैन तर प्रायः ट्राफिक प्रहरीले यात्रामा धेरै तनाव दिनुहुन्छ । सबै कागजात हुँदा पनि दुख दिने यति सम्म कि कोहीकोहीमा त मानविय समवेदना समेत हुँदैन । ”

यता कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक गोपाल चन्द्र भट्टराई सवारी चालकको यो आरोपलाई खण्डन गर्नुहुन्छ । “वास्तवमा नेपालमा सञ्चालित कुनैपनि यातायातका माध्यमहरु मापदण्ड पुरा गरि सञ्चालन गरिएका हुँदैनन् । तिनैलाई व्यवस्थित गर्न खोज्दा उहाँहरुलाई त्यस्तो लागेको हो । सवारी चालक तथा अन्य स्टाफलाई अनावश्यक हैरानि दिनुे हाम्रो ईन्टेशन हुँदै होईन । हामीले त केवल मापदण्ड पुरा गर्न मात्रै खोजेका हौं । ”

अनि सुटुक्क आफ्नो गोजी भरि राम्रोसंग चेकजाँच नै नगरि सवारी चल्न दिनुपनि मापदण्ड भित्रै पर्छ हो प्रवक्ता ज्यु ?

सरकारको गतिको त झन् कुरै नगरौं…..
दुर्घटना भएको अवस्थामा समयमा नै उपचार नपाएर मृत्युवरण गर्न नपरोस् र दुर्घटना कम गर्न सहयोग गर्नका निमित्त २०७५ भदौ २१ गते नेपालमा इन्जुरी अनुसन्धान केन्द्रको औपचारिक उद्घाटन गरियो । यसले सवारी दुर्घटना नरोकिएपनि क्षति कम हुने आंकलन थियो । केन्द्रले रिर्सच गर्दै नेपालमा अत्याधिक दुर्घटना हुन कारण र त्यसबाट राज्यले व्याहोरिरहेको भयावह मानविय तथा आर्थिक क्षतिको विवरण प्रस्तुत गरिरहेको छ । तर सरकारले त्यो डेटालाई कहिल्यै नियालेको देखिदैन ।
तराईका हरेक सय र पहाडका हरेक ५० किमि राजमार्गमा आकस्मिक उद्धार सेवा स्थापना गर्नुपर्ने, दुर्घटनापछि आकस्मिक उपचारका लागि हवाई एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, लाइसेन्स वितरण प्रणाली समयसापेक्ष र विश्वासनीय बनाउनुपर्ने लगायत सुझाव प्रतिवेदन केन्द्रले दिईरहँदा अहिले पनि दुर्घटना स्थलमै छट्पटाउँदै यात्रुको ज्यान गईरहेको अवस्था छ तर सरकारको आँखा बन्द छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com