दशै आएपछि जताततै खुशिको माहोल छाउँछ । जागिर तथा अध्ययनका लागि राजधानि तथा आफ्नो गृह जिल्ला बाहिर बस्दै आएकाहरुलाई आफ्नो गाउँ जाने चटारो हुन्छ । तर काठमाडौंको कोटेश्वरमा बस्दै आएकी कबिता बोगटीलाई भन्ने चिन्ताले सताएको थियो । काठमाडौंकै एक विद्यालयमा शिक्षिकाका रुपमा कार्यरत उनलाई दशै त आयो सबैसंग भेटघाट हुन्छ भन्ने कुराले मनमा केहि खुशि दिएपनि हरेक वर्ष चाडपर्वका बेला बसपार्कदेखि घर पुग्दा सम्म पाउने सास्तिले उनको मन कुंडिएको थियो । एक्लै भए त जस्तो सुकै दुख छिचोल्दै गईन्थ्यो तर आफुसंग पढ्न बसेको सानो भदैलाई कसरी लाने ? चिन्ताले सताएको थियो उनलाई …
एक त उनको घर जानलाई सिधैं गाडी पाईदैनथ्यो , धनगढी जानको लागि पनि अग्रिम टिकट काट्नुपर्ने । त्यहाँदेखि फेरि ८÷१० घण्टाको अर्को गाडी यात्रा.. त्यसैमाथि यसवर्ष दशैं नजिक नजिक आउँदा पनि अग्रिम टिकट बुकिङ खुल्ने सुरसार नै थिएन । त्यसले झन् पिडा थपेको थियो उनलाई ..
बल्लबल्ल ढिलो गरि भएपनि टिकट बुकिङ खुल्यो । सोहि दिन नै टिकट काट्नका लागि बच्चाहरुको परिक्षा चलिरहेपनि स्कुल माया मारि लाईन बस्न गईन उनि ….२ घण्टा ,३ घण्टा बित्दै उनि लाईनमा बसेको ११ घण्टा पुग्यो तर उनको पालो नआउँदै सो दिनका लागि काउन्टर बन्द भयो । भोली पल्ट पनि उनि ५ घण्टा लाईनमा बसिन तर पालो आएन । आफ्नो अगाडी ५ ÷६ सय जना देखेपछि आज पनि टिकट पाउने होईन बेकारमा स्कुुल छुट्ने होकी भन्ने चिन्ताले उनि फर्किन । तेस्रो दिन पनि उनि बिहानै लाईन बस्न गईन । करिब ६ घण्टा लाईनमा बसेपछि बल्ल उनले धनगढीका लागि टिकट पाईन । घर जानु त कता हो कता टिकट काट्नकै लागि ३ दिन बसपार्क धाएकी उनले पाएको सास्ती कम कहाँको थियो र ।
यो कबिता मात्रै होईन राजधानी वरिवरिका जिल्लाबाहेक टाढा टाढाबाट आएर राजधानिमा बस्दै आएकाको पिडा हो ।
अव्यवस्थित लाईनले हुने ठेलमठेल ,चिनेजानेको मान्छेलाई भित्रैबाट टिकट उपलब्ध गराईदिने समितिको व्यवहारले झन् सोझा साझा यात्रुलाई सकस दिने गरेको छ । एउटा बसको टिकट काट्न समेत चिनेजानेको मान्छे हुनुपर्ने भएपछि अरु क्षेत्रको अवस्था कस्तो होला ?
यस्तै झण्झटलाई कम गर्न अनि चाडवाडका बेला बसपार्क परिसरमा हुने भिँडलाई व्यवस्थापन गर्न सरकारले हरेक वर्ष अग्रिम टिकट बुकिङ खुला गर्ने गरेको छ । करिब २५ दिनदेखि १ महिना अगावै अग्रिम टिकट बुकिङ खुला गरिन्थ्यो तर यसवर्ष लम्बिएको मनसुनको कारण देखाउदै सरकारले दशैं शुरु हुनु केहि दिन अगावै मात्रै टिकट बुकिङ खुलायो । यसवर्ष त टिकट बुकिङ खुल्ने आशै मारेका यात्रु बुकिङ खुल्ला भएको सुचना पाउने बित्तिकै परिसरमा लाईन बस्न शुरु गरिहाले । टिकट नपाएर यसपाली दशैंमा घर जान नपाईने होकी भन्ने मनसायले होला बुकिङ खुल्ने दिनको अघिल्लो राति देखिनै बसपार्कमा टिकट काट्न यात्रुहरु लाईनमा बसेका देखिन्थ्ये ।
सरकारले यात्रुको सहजताका लागि भनेपनि पनि हरेक वर्ष चाडपर्वका बेला बेहोर्नुपर्ने सास्ति उस्तै छ । अग्रिम टिकट बुकिङ खुला हुन लागेको यतिका वर्ष हुँदा पनि सरकारले अझैं व्यवस्थापन गर्न सकेको छैन ।
लाईनमा बस्नुपर्दाको सास्ति त छँदै छ । महंगो टिकट लिएर चाडपर्वका बेलामात्रै चलाउन मर्मत गरिएका थोत्रा सवारी साधनले गर्दा हुने दुर्घटनाको डर उस्तै हुने गर्छ यात्रुहरुलाई । झन् त्यसैमाथि टिकट काट्नेले एउटै टिकट नम्बरमा धेरै यात्रुलाई टिकट दिदा हुने वादविवादको समस्याको त झन् कुरै नगरौं । अग्रिम टिक काट्दा पनि जाने दिनमा सिट पाईने हो÷होईन भन्ने चिन्ता उस्तै हुने गर्छ यात्रुलाई ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिलेको समयमा तथ्यांगगत रुपमा त्यस्तो कुनै डेटा नभएपनि केहि प्रतिनिधिमुलक गुनासो आउने गरेको बताएको छ । कार्यालयका प्रवक्ता पहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले चाडपर्वको समयमा दाहोरो टिकट परेको, बढी गाडी भाडा लिएकोदेखि सिट नपाएको जस्ता गुनासाहरु आएको बताउनुभएको छ । “त्यहि गुनासोहरुलाई सम्बोधन गर्नका लागि नाकाहरुमा चेकजाँचलाई कडा पारिएको छ भने उपत्यकाभित्रको हकमा यात्रुको गुनासो सम्बोधन गर्न निमित्त विभिन्न १६ स्थानमा यात्रु सहायात कक्षहरु सञ्चालन गरिएको छ । ”
बढी भाडा लिएको तथा दोहोरो टिकट परेको समस्यालाई सम्बन्धित यातायात व्यवसायीसंग समन्वय गरेर समाधान गरिएको उहाँले बताउनुभएको छ । तर यात्रुहरु भने यस्ता समस्याहरु कसैले नसुनिदिएको भन्दै विभिन्न अफ्ठयारो झेल्दै यात्रा गर्न बाध्य भएको गुनासो गरिरहेका छन् ।
प्रवक्ता भट्ट बढी भाडा लिएकालाई कारबाही गरि भाडा फिर्ता गर्न लगाउने गरेको बताउनुहुन्छ । तर बाहिरको त कुरै छोडौं बसपार्क परिसरभित्रै यातायाता व्यवसायीले एक्सट्रा बसको नामले खुलेआम मनपरि भाडा लिइरहेका छन् भने । यात्रुहरु पनि लाईनमा बस्दा पनि टिकट नपाईने अवस्था भएपछि बाहिरकै टिकट लियर महंगो भाडा तिर्न बाध्य छन् ।
यात्रुको सुरक्षित यात्रा तथा दुर्घटना कम होस् भन्नका निमित्त उपत्यका बाहिरका नाकामा , चालकको अवस्था ठिक छ छैन तथा सवारीसाधको अवस्था कस्तो छ भनेर चेकजाँचमा कडाई गरिएको प्रवक्ता भट्टले बताईरहँदा बसपार्क परिसरमा चाडपर्वलाई मात्र लक्षित गरेर मर्मत गरिएका थोत्रा सवारीसाधन प्रशस्तै देखिन्छन् ।
त्यस्ता सवारीसाधनलाई चल्नै नदिने कि यात्रु बोकेर आधा बाटो पुगेपछि चेकजाँच गर्ने प्रवक्ता ज्यु ?
यातायात व्यवसायीले ओभरलोड राखेको कुरालाई प्रमुख प्राथमिकतामा राखेर चेकजाँचमा कडाई गरिएको उहाँ भन्नुहुन्छ । तर कलंकी नपुग्दै बसको कोलियाभरि यात्रु कोचेको ट्राफिकको नजरमा परेको देखिदैन । अनि कसरी यात्रुले सहज यात्रा गर्न पाउँछन् ?

English
MTV NEPAL MTVNEPAL


