डाक्टरको लापरवाहीले ११ वर्षिय बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा तनाव उत्पन्न भएको छ । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका ३ का ११ वर्षका आक्रोश नेपालीको आज बिहान भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए । डीएसपी गौतमका अनुसार मंगलबार साँझ छारे रोग लागेका बालकलाई राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा ल्याइएको थियो । थप चेकजाँचका लागि उनलाई बिहीबार एमआरआई कक्षमा लगिएको थियो । सो क्रममा एमएआरआई कक्षको ढोका खुल्दा अक्सिजन मेसिनमा ठोक्किन पुगेको प्रहरीको भनाइ छ । त्यसपछि सिकिस्त भएका बालकलाई आईसीयू र भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहानमात्र भेन्टिलेटरमा बालकको मृत्यु भएपछि चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए । घटनापछि मृतकका आफन्तले दिउँसो नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका छन् ।आफन्तले भने एमआरआई कक्षमा धातुजन्य वस्तु लैजान नमिल्ने भए पनि अक्सिजनको सिलिण्डर एमआरआई कक्षमा लैजानु डाक्टरको लापरवाही भएको बताएका छन् ।

English
MTV NEPAL MTVNEPAL


