काठमाडौं, पुस १५ – एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि आज विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स खेल्दैछन् ।
खेल कीर्तिपुर मैदानमा शनिबार बिहान ११ बजेपछि सुरु हुनेछ । राष्ट्रिय टोलीका कप्तान पारस खड्का कप्तान रहेको विराटनगर प्रतियोगितामा अहिलेसम्म अपराजित छ भने राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी शरद भेषावकर कप्तान रहेको भैरहवाले प्रतियोगितामा २ खेल हारेको छ । भैरहवाले दुवै खेल विराटनगरसँग हारेको थियो । भैरहवा विराटनगरसँग समूह चरणमा ३५ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले पराजित भएको थियो ।
भैरहवाले इलिमिनेटरमा ललितपुरलाई हराउँदै फाइनलमा विराटनगर सँगको भेट पक्का गरेको हो । विराटनगरका लागि कप्तान पारससँगै बसन्त रेग्मी तथा हङकङ्गका खेलाडी बाबर हायत र अंशुमन रथले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । भैरहवाका लागि कप्तान भेषवाकरसँगै आरिफ शेख, रोहितकुमार पौडेल, दिपेश श्रेष्ठ भारतीय खेलाडी पुनित मिश्रा र पुनित विष्ट, हरिशंकर साह लगायतले राम्रो प्रदर्शन गर्दै आएका छन् । ६ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पुरस्कार जित्नेछ ।

English
MTV NEPAL MTVNEPAL


