दुबई उडानबाट वार्षिक एक अर्ब आम्दानी गर्ने निगमको लक्ष्य

खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक  एक अर्ब रूपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।

आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई सिधा उडान गर्ने तयारी गरेको निगमले एक वर्षमा ४० हजार बढी यात्रुलाई सेवा दिएर उक्त रकम आम्दानी गर्ने लक्ष्य लिएको हो ।

विसं २०४१ माघदेखि काठमाडौँ–दुबई उडान प्रारम्भ गरेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानको कमीका कारण सन् २०१२ अगस्टबाट सेवा बन्द भएको थियो ।

काठमाडौँ–दुबई उडानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले सम्भावना बोकेको दुबई गन्तव्यको नियमित उडानका लागि सबै तयारी पूरा भएको बताए । उनले अन्तर्राष्ट्रिय उडानको प्रतिस्पर्धी बजारमा नेपाल एयरलाइन्सलाई खरोरुपमा उतार्न सम्पूर्ण क्षमताकासाथ लागिपरेकोे उल्लेख गरे ।

निगमले अबको १२ देखि १८ महिनाभित्र दुई वटा वाइड बढी विमान किन्ने तयारी गरेको छ । हाल मुलुकमा २७ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमका प्रवक्ता रामहरि शर्माले नेपाल एयरलाइन्सले व्यावसायिक सफलता गर्ने क्रममा रहेको र विमान खरिदका लागि कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष तथा ठूला बैंकले बजेट दिन आतुर रहेको जानकारी दिए ।

उनले दुबईमा धेरै नेपाली श्रमिक कार्यरत रहेका र युरोप तथा अमेरिका जाने मुख्यद्वार पनि भएकाले उडान प्राथमिकतामा परेको बताए । निगमका अनुसार काठमाडौँबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।

काठमाडौँबाट दुबई उडान अवधि चार घन्टा ४० मि र दुबईबाट काठमाडौँ चार घन्टा १५ मिनेटको हुने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुबई उडान प्रारम्भ भएपछि अन्तर्राष्ट्रिय गन्तव्य आठ पुग्नेछन् । नेपाल एयरलाइन्सले हाल हङ्कङ, क्वालालम्पुर, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्बई र दोहामा उडान भर्दै आएको छ ।

THIS IS ADD AREA
x

Check Also

६० लाख हाराहारी पासपोर्ट छाप्दै सरकार ,,छिट्टै टेण्डर प्रक्रियामा जाने

परराष्ट्रमन्त्री एनपी साउदले करिब ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा मन्त्री साउदले मन्त्रिपरिषदले ५ वर्षका ...

Social Media Auto Publish Powered By : XYZScripts.com