माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत अनुमान भन्दा बढ्ने

१४ पुस, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत करिब १५ अर्बले बढ्ने देखिएको छ । यसरी हेर्दा आयोजनाको लागत ०६६ सालमा अनुमान गरिएको ३५ अर्ब २९ करोडबाट बढेर ५० अर्बको हाराहारीमा पुग्ने देखिएको छ ।
२०६६ सालयता भएको डलरको मूल्यवृद्धि, आयोजनाको डिजाइनमा भएको हेरफेर र निर्माणको समय लम्बिएका कारण लागत बढ्न गएको हो । त्यस क्रममा डलरको मूल्यवृद्धिका कारण मात्र सात अर्ब रुपैयाँ लागत बढ्ने देखिएको आयोजनाको लागतबारे अध्ययन गरिरहेको एक समितिले जनाएको छ ।
आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार गत आर्थिक वर्षसम्ममै ३६ अर्ब खर्च भइसकेको छ । अझै आयोजनाको १० प्रतिशतभन्दा बढी काम बाँकी नै हुँदा ०६६ मा गरिएको लागतको आकलनभन्दा बढी खर्च भइसकेको छ ।
२०६५ सालको आकलनअनुसार एक मेगावाटका सात करोड ७३ लाख रुपैयाँ लाग्ने देखिएको थियो । अब भने प्रतिमेगावाट १० अर्ब लाग्ने देखिएको छ ।
न्यौपानेका अनुसार ०६५ सालमा प्रतिडलर ८० रुपैयाँ थियो । त्यसैलाई आधार मान्दै ३५ अर्बको लागत निकालिएको थियो । तर, अहिले डलरको भाउ एक सय दुई रुपैयाँ कायम भएको छ । केही वर्षअघि एक सय १० रुपैयाँसम्म पुगेको थियो । त्यतिबेला आयोजनाले सोही भाउमा भुक्तानी दिएको थियो ।
उक्त आयोजना निर्माणको जिम्मा चार वटा विदेशी कम्पनीले लिएका छन् । विदेशी कम्पनीलाई डलरमै भुक्तानी दिनु पर्छ ।
लागत बढ्नुको एक कारण विनासकारी भूकम्पछि आयोजनाको काम डेढ वर्षसम्म रोकिनु पनि हो । पहुँचमार्गहरु भूकम्पका कारण भत्किएपछि तिनको साटो करिब तीन सय ६० मिटरको सुरुङ निर्माण गर्नु पर्यो ।
भूकम्पका कारण बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो । ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए ।
अरनिको राजमार्गबाट दोलखासम्म जाने सडकमा निर्मित पुलहरुले हेभी उपकरणको भार धान्न नसक्ने भएकाले वैकल्पिक व्यवस्था गर्नुपरेको थियो ।
यसबीचमा आयोजनाले डिजाइन पनि परिवर्तन गरेको थियो । मुख्य सुरुङको अन्तिम खण्डमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि डिजाइन परिवर्तन गर्नु परेको हो ।

मुख्य सुरुङको पेनस्टक अडिटतिर खनेर सकिएको पाँच सय मिटरमध्ये साढे चार सयमा स्टिल लाइनिङ, चार सय मिटरको नयाँ अडिट सुरुङ निर्माण र नौ सय ४० मिटरको सर्ज सुरुङ बनाउनु परेको छ ।

पुरानै डिजाइनमा निर्माण गर्दा सुरुङको धेरै भागमा स्टिल लाइनिङ गर्दा थप १ अर्ब ८४ करोड रुपैयाँ र थप १५ महिना लाग्ने देखिएको थियो । डिजाइन संशोधन गर्दा भने थप ७४ करोड लागत बढ्ने र जसको काम दुई महिनामै टुंगिने देखिएपछि सोहीअनुसार काम अगाडि बढाइएको थियो ।

हालै आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु भएको छ । हाइड्रोमेकानिकलको जिम्मा लिएको कम्पनी टेक्सम्याकाले गेट निर्माण तथा सामानको आयात समयमै अगाडि बढाएको छैन । अन्य कम्पनीहरुको काम भने सन्तोषजनक नै देखिन्छ ।

यो आयोजना स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना हो । यस आयोजनामा कर्मचारी सञ्चयकोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले दुई अर्ब र राष्ट्रिय बीमा संस्थानले दुई अर्ब लगानी गरेका छन् । मन्त्रिपरिषद्ले ११ अर्ब आठ करोडसम्म लगानी गर्ने निर्णय गरेको छ ।

२०७४ पुष १४ गते ११ ः१० मा प्रकाशित

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com