बैंक कर्मचारीलाई मासिक साढे १ अर्ब खर्च

वाणिज्य बैंकहरूले कर्मचारीका लागि मासिक १ अर्ब ५८ करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । ती बैंकमा कार्यरत करिब साढे २२ हजार कर्मचारीको तलब, भत्ता, तालिम लगायतमा यो रकम खर्च हुने गरेको हो ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल कर्मचारी खर्च १९ अर्ब ८३ लाख रुपैयाँ रह्यो । उक्त रकम १२ महिनालाई भाग लगाउँदा मासिक बैंकहरूको कर्मचारी खर्च साढे १ अर्ब रुपैयाँ पर्न गएको हो । यो आर्थिक वर्ष ०७१/७२ को तुलनामा करिब साढे ७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरूको यस्तो खर्च १७ अर्ब ८० करोड रुपैयाँ थियो ।

हाल बैंक तथा वित्तीय संस्थामा करिब २७ हजार कर्मचारीहरू छन् । तीमध्ये वाणिज्य बैंकमा कार्यरत कर्मचारी संख्या २२ हजार ४ सय ६५ छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै कर्मचारी खर्च सरकारी स्वामित्वका कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा छ ।

गत आर्थिक वर्षमा मात्र कृषि विकास बैंकले कर्मचारीका लागि ३ अर्ब २४ करोड रुपैयाँ खर्च गर्‍यो । यो अन्य बैंकभन्दा धेरै हो । तर, यो वर्ष कर्मचारीहरूको अवकाश कोषमा १ अर्ब २४ करोड रुपैयाँ छुट्टयाइएकाले यो शीर्षकको खर्च बढेको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए । ‘कर्मचारीको अवकाश कोषमा छुट्टयाएको रकम छोड्ने हो भने कुल कर्मचारी खर्च करिब १ अर्ब ८३ करोड रुपैयाँ छ,’ उनले भने । हाल यो बैंकमा करिब २ हजार ६ सय कर्मचारी कार्यरत छन् ।

यस्तै गत वर्षमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीका लागि २ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ । यो सोही आर्थिक वर्षको बैंकको खुद मुनाफाभन्दा करिब ८ करोडले मात्र कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो खर्च २ अर्ब ६७ करोड रुपैयाँ थियो । हाल यो बंैकमा करिब २ हजार ८ सय कर्मचारी कार्यरत छन् । सरकारी बैंकहरूमध्ये नेपाल बैंकको कर्मचारी खर्च तुलनात्मक रूपले कम छ । गत आर्थिक वर्षमा यो बैंकको कर्मचारी खर्च २ अर्ब १८ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो खर्च २ अर्ब ४३ करोड रुपैयाँ थियो । हाल यो बैंकमा करिब २ हजार ७ सय कर्मचारी कार्यरत छन् । यद्यपि पछिल्ला वर्षहरूका ती बैंकहरूको कर्मचारी खर्च घट्दो क्रममा छ । बैंकहरूमा कार्यरत कुल कर्मचारीको करिब ३५ प्रतिशत सरकारी स्वामित्वका तीन वटा बैंकमा छन् ।

निजी बैंकहरूमा सबैको कर्मचारी खर्च १ अर्बभन्दा कम छ । तीमध्ये कर्मचारीका लागि सबैभन्दा धेरै खर्च हिमालयन बैंकले गरेको छ ।
गत आर्थिक वर्षमा यो बैंकको कर्मचारी खर्च ९० करोड ८३ लाख रुपैयाँ छ । अघिल्लो वर्ष यो बैंकको कर्मचारी खर्च ९१ करोड रहेको थियो । यस्तै दोस्रोमा नबिल बैंक छ । गत आर्थिक वर्षमा यो बैंकको कर्मचारी खर्च ७७ करोड ३५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब ४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा जनता, हिमालयन र नेपाल बैंकको कर्मचारी खर्च घटेको छ । बाँकी बैंकहरूको यस्तो खर्च करिब २ प्रतिशतदेखि १ सय ४४ प्रतिशत सम्मले बढेको छ । गत आर्थिक वर्षमा एभरेस्ट बैंकको कर्मचारी खर्च १ दशमलव ७७ प्रतिशत र एनएमबी बैंकको १ सय ४४ प्रतिशतले बढेको छ । बाँकी अन्य बैंकको कर्मचारी खर्च पनि उल्लेख्य रूपमा बढेको छ ।

पछिल्ला वर्षहरूमा बैंकहरूको व्यावसायिक विस्तार हुनुका साथै सञ्चालनमा कर्मचारी थप्नुपर्ने भएकाले कर्मचारी खर्च बढेको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौड्यालले बताए ।

‘बैंकहरूले वार्षिक रूपमा तलब भत्ता बढाउनुका साथै तालिम लगायतको खर्च पनि बढेको छ,’ उनले भने, ‘बजारको मूल्य वृद्धिदअनुसार रहेक वर्ष तलब बढाउनुपर्छ ।’ उनका अनुसार हाल बैंकहरूमा तल्लो तहका कर्मचारी (कोर बैंकिङ कामका) को मासिक तलब १८ देखि २० हजार रुपैयाँ छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com