हालै फ्लोरिडामा स्कुले विद्यार्थीहरुलाई बन्दुकधारीले आक्रमण गरेर हत्या गरेपछि अमेरिकामा बन्दुक राख्न पाउने कानुनको पक्ष र विपक्षमा बहस चूलिएका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका शिक्षकहरुलाई बन्दुक बोकेर पढाउन दिने प्रस्ताव गरेका छन् ।
ट्रम्पले यस्ता हमला फेरि हुन नदिने प्रतिवद्धता जनाएका छन् । त्यसका लागि बन्दुक किन्ने व्यक्तिको पृष्ठभूमि सही ढंगले जाँच गर्न र ‘वम्प(स्टक’ प्रविधिको प्रयोगमा रोक लगाउने कानुन बनाउन ट्रम्पले निर्देशन दिइसकेका छन् ।
बन्दुकबाट हुने हिंसाबारे ह्वाइटहाउसमा बुधबार आयोजित एक कार्यक्रममा ट्रम्पले हतियारधारी शिक्षकहरुले आक्रमणलाई रोक्न सक्ने बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गन लबी समूह नेशनल राईफल एसोसिएशन (एनआरए)को प्रस्तावलाई पनि समर्थन गरेका छन् जसले शिक्षकहरु र अरु स्टाफहरुलाई बन्दुक राख्न दिने प्रस्ताव राखेको थियो । उनले शिक्षण संस्था वरपरको क्षेत्रमा बन्दुक बोक्न पाउने स्वतन्त्रताको आलोचना पनि गरेका छन् ।
यसैबीच फ्लोरिडा आक्रमणमा बाँचेकाहरुले राज्यको राजधानीमा असाल्ट राइफलको बिक्रीमा कडाई गर्न जनप्रतिनिधिहरुसँग माग गरेका छन् ।

English
MTV NEPAL MTVNEPAL


