काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दाङको तुलसीपुरमा स्पोर्ट्स सिटी निर्माण गर्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । स्पोर्ट्स सिटी निर्माणबारे अध्ययन तथा छलफल गर्न राखेपको एक टोली दाङको तुलसीपुर पुगेका छन् ।
स्पोर्ट्स सिटीबारे बुझ्न दाङ पुगेका राखेपका सदस्य–सचिव केशवकुमार विष्टले सोमबार सरोकारवाला र विभिन्न संस्थाका प्रतिनिधिसंग अन्तरक्रिया गरेका छन् । अन्तरक्रियामा राखेप सदस्य–सचिव केशव कुमार विष्टले खेलकुद संरचना निर्माणमा गरिएको लगानीलाई खर्चका रुपमा हेर्न नहुने धारणा व्यक्त गरेका थिए । उनले भने, “स्वस्थ नागरिक र अन्तर्रा्ष्ट्रिय जगतमा देशको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलाडी उत्पादनका लगानी हो भन्ने बुझ्नु पर्छ ।” यस्तै उनले स्पोर्ट्स सिटी निर्माण गर्न परिषद् प्रतिबद्ध रहेको बताउदै यो कार्यमा सम्बन्धित सबैको साथ पनि उत्तिकै आवश्यक रहेको बताए ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले स्पोर्ट्स सिटी निर्माण गर्न राखेपसंग साझेदारी गर्न तयार रहेको बताउदै स्पोर्ट्स एकेडेमी बनाउन उपमहानगरपालिकाले बजेट समेत विनियोजन गरेको जानकारी गराए । उनले १ वडा १ खेल मैदान बनाउने उपमहानगरपालिकाको योजना रहेको बताए ।
तुलसीपुरमा स्पोर्ट्स सिटी निर्माण गर्न राखेपले राखेपका सदस्य विनोद मैनालीको संयोजकत्वमा ५ सदस्यीय तुलसीपुर स्पोर्ट्स सिटी सम्भाब्यता अध्ययन कार्यदल निर्माण गरेको छ । कुन स्थानमा स्पोर्ट्स सिटी निर्माण गर्न उपयुक्त हुन्छ भनी तुलसीपुरका विभिन्न १९ वडामा जग्गाको अवलोकन समेत गरेको कार्यदलका सदस्य शिवराज भट्टले जानकारी दिए ।
अन्तरक्रियामा भट्टले स्पोर्ट्स सिटीको आवश्यकता, फाइदा, स्पोर्ट्स सिटीमा के के संरचना बन्नु पर्छलगायतका विषयमा प्रकाश पारेका थिए । स्पोर्ट्स सिटीको अवधारण अनुरुप राखेपले कार्यदल निर्माण गरी सुनसरीको इटहरी र कास्कीको पोखरामा काम सुरु गरिसकेको छ ।

English
MTV NEPAL MTVNEPAL


