नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले उपत्यकालाई विद्युत चोरी मुक्त क्षेत्र बनाउने र त्यसपछि देशव्यापी रुपमा यो अभियान चलाउने तयारी भइरहेको जनाएका छन् । त्यसको लागि आफैले प्रत्यक्ष रुपमा निगरानी गर्ने पनि बताएका छन् । संगठित रुपमा ललितपुरमा विभिन्न स्थानमा विद्युत चोरी भएपछि त्यस्ता क्रियाकलाप रोक्न नेपाल विद्युत प्राधिकरणले १५ दिनको अल्टिमेटम दिएको छ । यदि १५ दिनपछि पनि त्यस्ता कृयाकलाप नरोकिए विद्युत कटौती गर्ने चेतावनी समेत दिएको छ । अधिकृत कुलमान घिसिङका अनुसार ती ठाउँका जनतालाई यसबारेमा जानाकारी दिइ सकिएको बताएका छन् । र त्यस्ता क्रियाकलाप नदोहोर्याउन समेत अनुरोध गरेका छन् ।
ललितपुरको भित्री सहरी क्षेत्र पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछे लगायतका स्थानमा संगठितरुपमा विद्युत चोरी भइरहेको विद्युत प्राधिकरणको अध्ययनले देखाएको छ । यसैगरी गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धी, गुहीटोल, ठैब, बाँडेगाउँ, लुभु जाने फिडरअन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा अत्याधिक विद्युत चोरी हुने क्षेत्र रहेको प्राधिकरणको बुझाई रहेको छ । यसैगरी ललितपुरकै चापागाउँ फिडरअन्तर्गतका सुनाकोठी, ठेचो, लेले, चापागाउँ लगायतका क्षेत्रमा पनि संगठितरुपमा विद्युत चोरी भइरहेको प्राधिकरणले जनाएको छ । उल्लेखित क्षेत्रहरुमा विद्युत चोरीको औसत दर ५० प्रतिशतको हाराहारीमा छ । यी क्षेत्रहरुमा भइरहेको विद्युत चोरीका कारण वार्षिक ५० करोड राजस्व प्राधिकरणले गुमाइरहेको छ ।

English
MTV NEPAL MTVNEPAL


