नेपाल अल्पविकसित मुलुक हो । यहाँ आर्थिक विकासका कामहरु अत्यन्तै न्युन परिणाममा भएका छन् । नेपालको आर्थिक विकासका चुनौतिमा गरिबी र बेरोजगारी सबैभन्दा बढी समस्याका रुपमा देखिएका छन् । बैदेशिक रोजगारबाट करिब ४० लाख युवाहरुले रोजगारी पाइरहेका छन् । मुलुकले जबसम्म काम गर्न सक्ने जनशक्तिलाई रोजगारीका अवसर दिन सक्दैन तबसम्म दीगो आर्थिक समृद्धि र विकास भाषण र नाराहरुमै सीमित रहने निश्चित छ । देशको नेतृत्व गर्नेहरु मुलुकलाई सधै अस्थिरता राजनीतिक भाँडभैलोमै लामो समय गुजारेका कारण विकासका कुराहरुले प्राथमिकता पाउन सकेका छैनन् । विकास बिना गरिबी बेरोजगारी जस्ता विकराल समस्याबाट अलग बन्न सकिदैँन । वा अहिलेको अवस्थामा विदेश जानु आम युवाको रहर नभएर बाध्यता बनेको छ । जुन मुलुकका लागि अत्यन्तै दुर्भाग्यको कुरा हो । नेपालले बैदेशिक रोजगारीका लागि ११० देशहरु खुल्ला गरेको छ ।
हाम्रो देशमा वैदेशिक रोजगार पनि भरपर्दो र सुरक्षित बन्न सकेको छैन । वैदेशिक रोजगारमा जाँदा कतिपय कामदारहरु अलपत्र परेका छन् । कसैको ज्यान समेत जोखिममा परेको छ । कैँयौ युवतीहरु बेचविखनको शिकारमा परेका छन् । जसले गर्दा दिनप्रतिदिन जोखिम थपिदै छ । सरकारको कडा निगरानी र नीतिनियमको अभावका कारण त्यसको मारमा निर्दोष व्यक्तिहरु परेका छन् । जुन अत्यन्तै दुःखद छ । हाम्रो समाजमा लुटेरा फटाहा र ठगी गर्नेहरुको त्यत्ति धेरै कमी छैन । यस्ता तुच्छ र घिनलाग्दा धन्दा चलाउनेहरु खुलेयाम हिडिरहेका छन् । पिडीत पिडामै छटपटाइरहेका छन् । राम्रो देशमा भिसा मिलाइदिन्छु भनेर अनेक तरिकाले पैसा फुत्काउने र पैसा हातमा परेपछि फरार बन्ने प्रवृति लुटेराहरुको संस्कृति नै भइरहेको छ भन्दा कुनै फरक पर्दैन । विदेश जानको लागि कैयौँ वर्ष पसिना चुहाएर वा ऋणधन गरेर रकम जम्मा गरी बुझाएपनि पैसा हातमा परेपछि बेखबर हुनुले समाजको चरित्रलाई नै धमिलो बनाइदिएको छ । यस्ता विकृति र बेथिति मच्चाउनेहरुलाई राज्यको तर्फबाट खोजी गरी यस्तो कारबाही गर्नुपर्छ जुन कारबाहीले गर्दा आगामी दिनमा यस्ता कार्यहरु गर्ने दुस्साहस कसैले नगरोस् ।
अहिलेसम्म त धेरै फटाहाहरु सोझासाझालाई ठगेर आफ्नो भुँडी फस्टाईरहेका छन् । यस्ता फटाहलाई सामाजिक बहिष्कार गर्न सक्नुपर्छ । ताकी आगामी दिनमा मानिस ढुक्कसँग विदेश जाने वातावरण बनोस् जसबाट कोही पनि प्रताडित बन्न नपरोस् । लुटेरा र फटाहालाई पर्दाफास गरेर कडाभन्दा कडा कारबाही होस् । नेपालले शान्ति सुसासन र लोकतन्त्रको पक्षमा लामो राजनीतिक लडाई त लडिसक्यो र ठूलो उपलब्धि हासिल गर्यो भनेर धेरै हल्ला गरिएको छ । तर जनताले त्यसको प्रतिफल पाउन सकेनन् भने त्यसको कुनै पनि अर्थ रहँदैन लुटेरा र फटाहाले विभिन्न प्रलोभन र आश्वासनमा पारेर सोझासाझा जनताको पसीना र रगत चुसिरहेका छन् । बैदेशिक रोजगारीलाई भरपर्दो व्यवस्थित र व्यवस्थित बनाउनको लागि बैदेशिक रोजगार विभाग पनि रहेको छ । जहाँबाट पनि यस्ता अपराधीहरुको पहिचान गरी नियन्त्रण गर्ने काम सन्तोषजनक रुपमा भएको महसुस आम जनताले गर्न पाएका छैनन् । यसै बीचमा एकजना पिडीतको हामी कुरा गर्दैछौ ।
केही दिनअघि प्राप्त समाचार अनुसार सप्तरीको राजविराजका अमित कुमार यादवले पोल्याण्डको भिसा लगाइदिने भन्दै काठमाण्डौका पवन पौडेल र रविन्द्र प्रसाद सिंहमार्फत क्रमशः ११ लाख १५ हजार र ५ लाख रकम २०७१ सालमा असुलेको तर भिसा भने नपठाएको गुनासो गरेको आएको थियो उक्त व्यक्तिले केही समयसम्म त भिसा आउँछ भन्दै आलटाल गरेको तर अहिले भने सम्पर्कविहिन अवस्थामा रहेको पिडीतको गुनासो छ । पोल्याण्डमा अरुले भन्दा कम रकममै जाने व्यवस्था मिलाईदिने पीडितकी दिदी र बुबामार्फत् उसले पैसा असुलेको कुरा बताएका छन् । साथै उनीहरुले न्यायका लागि प्रहरी कार्यालय र सम्बन्धित निकायमा उजुरी समेत दिइसकेका छन् । यहाँ उठाउन खोजिएको प्रसंग के हो भने माथि उल्लेखित पात्रहरु त प्रतिनिधि मात्र हुन् यस्तो ठगीको खेल कैयौँले खेलिरहेका छन् ।
यस्ता लुटपाटको धन्दा धेरैले चलाएका छन् । पिडितहरु पनि कैयौँ छन् । जो रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् । बेहाल अवस्थामा पुगेका छन् । त्यसकारण यस्ता फटाहा ठग र लुटेराहरुलाई गतिलो झापड हान्नुपर्छ र वास्तविक पिडितको घाउमा मल्हम लगाउनुपर्छ । साथै हामी पनि कसैले अस्वभाविक प्रलोभन देखाएर केही भन्यो भने सजिलै विश्वास गर्ने बानी हटाउनुपर्छ । यदी राज्यले तोकेको भन्दा कम रकममै कसैले मैले पठाउछु भन्छ भने त्यसमा केही गडबढी छ भन्ने बुझ्नुपर्छ । धेरै मानिसहरु आफ्नै आफन्त, नातेदार, र साथिभाइसँग पनि ठगिएका छन् । त्यसकारण सजिलो बाटोबाट भन्दा कानुनी पक्रिया मिलाएर काम गर्नुपर्छ । नत्र भने अमानवीय व्यवहार बोकेका कलंकित व्यक्तिहरुकै व्यापार बढ्नेवाला छ । यसमा सरकार जनता र सम्बन्धित पक्ष चनाखो बन्नुपर्छ ।

English
MTV NEPAL MTVNEPAL


