नारायण भण्डारी । यतिबेला जताततै प्रधानन्यायाधीश गोपाल पराजुलीको चर्चा चुलिएको छ । खासगरी सामाजिक सञ्जाल र पत्रपत्रिकामा गोपाल पराजुली माथि लगाइएका आरोपमा सबैको चासो देखिएको छ । त्यसमा पनि प्रधानन्यायाधीशका चारओटा श्रीमति भएको कुरा अझ बढी प्रचारित छ ।नेपालको कानुनका कुरा गर्दा कोही पनि व्यक्तिले बहुविवाह गर्न मिल्दैन यदी कसैले गर्छ भने त्यसले कानुनी कारबाहीको भागिदार बन्नुपर्छ । विशेषगरी पराजुलीको चारओटा श्रीमतिको विषय अहिले गोविन्द केसीसँगको सवाल जफाफमा बेस्सरी उठेको हो । धेरैलाई लागेको थियो कि चारओटा श्रीमति हुँदाहुँदै पनि उनी किन प्रधानन्यायाधीश भएका छन् ? उनलाई किन कारबाही नभएको होला ? यो जिज्ञासा स्वभाविक पनि हुन्छ ।
कवि भुपि शेरचनले भनेका थिए रे नेपाल हल्लैहल्लाको देश हो । यहाँ धेरै कुरा हल्लाको आधारमा हुन्छन् । के चारओटी श्रीमतिको श्रीमान् भएर कोही व्यक्ति प्रधानन्यायाधीश हुन्छ त ? उनी प्रधानन्यायाधीश हुँदा संसदीय सुनावाई हुँदा यो विषय किन उठेन ? यावत् प्रश्नले पनि उत्तर खोजिरहेका छन् । र अर्को कुरा कसैको व्यक्तिगत निजी मामिलामा भएका कुराको दुष्प्रचार गर्दा पारिवारिक मानमर्दनमा हुने क्षतिमा कोही पनि सजग भएनन् । उनको एकोहोरो पाराले मजाक उडाइरहे । उनका शैक्षिक प्रमाणपत्र, अन्य योग्यताका विषयका बारेमा त छानविन होला हुनु पनि पर्छ । तर उनको चारओटा श्रीमतिको प्रकरण भने स्वभाविक नै छ । अझ भनौ कानुनसम्मत पनि छ । हो उनले चारओटी श्रीमती विवाह गरेका हुन् तर कानुनसम्मत नै गरेका हुन् यो पाटोलाई भने कसैले बुझेन र बुझ्न चाहेन पनि । पहिले राजनीति, त्यससँगै कानून व्यवसाय र पछि न्यायाधीश बनेका पराजुलीले यौवनावस्थामा सम्भ्रान्त परिवारकी श्रीमती ल्याएका थिए । यसवीचमा उनी जेलसमेत परे । त्यससँगै उच्च घरानाको ज्वाइँ बन्ने पराजुलीको चाहना वीचैमा छुट्यो । उमेर छँदै पत्नीले छाडेर गएपछि विवाह नगरी बस्ने कुरै भएन । पराजुलीले दोस्रो विवाह गरे । तर, उनको दोस्रो घरजम पनि टिकेन । उनकी पत्नीलाई ब्लड क्यान्सर भयो र उनी बितिन् । पत्नी वियोगबाट त्राण पाउनका लागि पराजुलीले तेस्रो विवाह गरे । तर, त्यो घरजम पनि एउटा वियोगान्त त्रासदीमा परिणत भयो । पराजुलीकी तेस्री श्रीमतीको दुर्घटनामा परेर निधन भयो । यही घटनालाई कतिपय पत्रिकाले ‘पराजुलीले श्रीमती मार्यो’ भनेर लेखेको गुनासो पराजुली परिवारको छ ।‘पत्नी वियोगको कुरा गर्दा उहाँ भावुक बन्नुहुन्छ,’ पारिवारिक स्रोत भन्छ, ‘तर, यस्तो पीडादायी व्यक्तिगत भोगाइलाई सामाजिक सञ्जालमा पराजुलीको अपराधका रुपमा चित्रण गर्दा परिवारका अन्य सदस्यहरुको समेत चित्त दुखेको छ, श्रीमती बसन्ता त लगभग विक्षिप्तजस्तै बन्नुभएकोछ ।’
प्रधानन्याधीश पराजुलीसँग सपरिवार बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी बसन्ताको माइत दाङ हो । उनी पराजुलीसँग विवाह हुँदा युएनडीपीमा जागिर खाँदै थिइन् । यी कुरालाई बुझ्दा गोपालको श्रीमति प्रकरणमा प्रश्न उठाउने ठाउँ नै छैन तर जसरी संचार माध्यमले यी कुरालाई भाइरल बनाए यो विषय निकै दुखद् हो । कसैको पारिवारिक जीवनीलाई दुष्प्रचार गरेर बद्नियत गर्ने अधिकार कसैलाई पनि छैन । संचार माध्यम पनि यस विषयमा सजग बन्नुपर्छ । यति भनिरहदाँ गोपाल पराजुली सबै हिसाबमा योग्य थिए र छन् भन्ने पुष्टी मान्नुहुँदैन । उनका अन्य योग्यतका विषयमा सबैलाई चित्त बुझ्ने गरी छानविन हुनुपर्छ ।

English
MTV NEPAL MTVNEPAL


