नेकपा एमालेबाट प्रदेश नम्बर ३ बाट सांसद बनेका डा. रामकुमार अधिकारीले एमालेको नेतृत्वमा बन्ने सरकारले देउवा सरकारका सबै निर्णय नउल्टाउने बताएका छनु् । रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकार कुनै पार्टी विशेषको नभएकोले देउवा सरकारले गरेका उचित कार्यहरुको निरन्तरता दिने बताएका हुन् । यद्यपि कुनै निर्णयहरुको बारेमा भने पुनर्विचार गर्नुपर्ने बताएका छन् । अधिकारीले थपे,‘जनउपयोगी र लोककल्याणकारी निर्णयहरुलाई निरन्तरता दिन्छौं, सरकार त नेपाल देशको हो नि, राम्रा निर्णयहरुलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता हो।’ अधिकारीले राजनीतिक रुपमा अब बन्ने सरकारलाई आर्थिक असर पार्ने उद्देश्यले वा नियतले गरेका निर्णयहरुमा भने नयाँ सरकारले पूनरावलोकन गर्न सक्ने बताए । एमाले–माओवादीवीचको एकताले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउने भएकोले एकताप्रति सबै जनता खुशी रहेको उनको विश्वास थियो । उनले भने,‘दुई पार्टीवीचको एकताले राजनीतिक अस्थिरताको अन्त्य समेत गरेको छ, अब सरकार दिगो हुन्छ, विकास निर्माणका कामहरुले गति लिन्छन्, मुलुकलाई समृद्ध बनाउने नै हाम्रो मुल उद्देश्य हो।’

English
MTV NEPAL MTVNEPAL


