किरियापुत्री बस्ने ब्राह्मणले नै गरे यस्तोसम्मको लाजमर्दो काम

किरियापुत्री बसिदिने ब्राह्मणले धेरै दक्षिणा मागेर अचाक्ली गरेको गुनासो बढ्न थालेको छ । पशुपति क्षेत्र विकास कोष यो अचाक्लीलाई टुलुटुलु हेरिरहेको आरोप पनि लाग्न थालेको छ ।

सुरुमा सामान्य भए पनि एघारौँ दिनमा यस्ता मागले उचाइ लिने गरेको भुक्तभोगीको भनाइ छ । पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरका अनुसार कोषले किरियापुत्रीलाई दिनमा यति लिनु भन्ने तोकेकै छैन, यस कामका लागि ब्राह्मण राखिएको पनि छैन तर बढ्दो मनोमानीले नियम बनाउन आवश्यक भने देखिएको छ । प्रशासकीय अधिकृत थापामगरका अनुसार ३६ देखि ७० हजार रुपियाँभन्दा माथि उनीहरूले दक्षिणा आँकलन गरिरहेका छन् । यसरी दक्षिणा असुल्न चाहने कतिपय ब्राह्मण पशुपति क्षेत्रतिरै बेरोजगारका रूपमा भेटिने गरेका छन् । आफ्ना शुभचिन्तकको परिवारका लागि किरिया बस्ने ब्राह्मण खोजी गरिरहनुभएका सिनामङ्गल निवासी मनोज भण्डारी किरियापुत्री बस्ने ब्राह्मणको चालचलन देखेर छक्क पर्नुभयो । “पैसा नहुनेको त पशुपतिमा किरियासमेत नहुने अवस्था पो रहेछ,” भण्डारीले गुनासो गर्नुभयो ।

किरिया बस्ने सन्तान नभएर ब्राह्मण राख्नुपर्दा खोज्ने काम सम्बन्धित परिवारजनकै हुने हुँदा ब्राह्मणले मनलाग्दो दक्षिणा माग गरिरहेका अधिकृत थापामगरले बताउनुभयो । आफन्त कोही नभएका बेवारिस शवको दाहसंस्कारका लागि भने पशुपति गुठी गोश्वारा कार्यालयले बेवारिस भन्ने प्रहरी मुचुल्कासाथ शव सनाखत गराई दाहसंस्कार गरिदिनेसम्म व्यवस्था गरेको गोश्वारा प्रमुख लच्छुना काफ्लेले बताउनुभयो तर किरिया बसिदिनेको हकमा गोश्वाराले केही गर्न सक्दैन, दाताले यो व्यवस्थाका लागि कुनै गुठी राखिदिएका पनि छैनन् ।
जीवित छँदा यहलोक र मरेपछि परलोक सुधार गर्न गरिने यस्ता कार्यमा अचाक्ली हुन नहुने कतिपय भुक्तभोगीको विचार छ । एक अनुभवीका अनुसार किरियापुत्री राख्यो, लुकेर नुन खाइदिन्छन्, राति रक्सी नै धोकिदिने पनि छन् भने श्रीमतीसहित सुतिदिने पनि छन्, रक्सीको गन्ध हटाउन अम्खरा र झारीमा फिटकिरी मिसाएको पानी हालेर स्नान कुल्ला गर्ने पनि छन् । अम्खरामा नुन हालेर पानी पिउने पनि छन् ।

पशुपति क्षेत्रमा घाट व्यवस्थापन र किरियापुत्री घरको सुधारका निकै राम्रा प्रयास भएका छन् तर अरूको किरिया बसिदिने ब्राह्मणमाथि भने व्यवस्थापनले लगाम लगाउन नसकेको र तिनकै कारण यो क्षेत्र बदनाम हुँदै गएको टिप्पणी यत्रतत्र गरिँदैछ । किरियापुत्रीका लागि ३५ हजार रुपियाँ कर्मअनुसार महँगो नभएको दाबी चावहिल चुच्चेपाटीका ब्राह्मण रघु चालिसेको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com