काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले महानगरको बुक फ्रि फ्राइडे कार्यक्रम नहटाउन आग्रह गरेका छन् । काठमाडौंको बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीहरूले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसँग किताब पढेको दिनभन्दा शुक्रवार धेरै कुरा सिक्न पाइएको भन्दै बुक फ्रि फ्राइडे कार्यक्रम निरन्तर गर्न आग्रह गरे । विद्यालय निरीक्षणका क्रममा अधिकारीले, कक्षा कोठामा पुगेर ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन नगरे तपाईँहरुलाई फरक पर्छ? भनेर प्रश्न सोधेपछिको उत्तरमा विद्यार्थीहरूले यस्तो उत्तर दिएका हुन् ।
निरीक्षणपछिको प्रतिक्रियामा अधिकृत अधिकारीले, विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यालयलाई सुन्दर बनाउने कार्यक्रमका लागि महानगरले सहयोग उपलब्ध गराउने बताउँदै विद्यालयले नतिजा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
विद्यालयहरूमा सिपमा शिक्षा कार्यक्रम सञ्चालनको तयारीमा छन् । विगतका कार्यक्रमको निरन्तरताका सम्बन्धमा शिक्षा अधिकारी सिताराम कोइरालाले, जनशक्तिको उच्चतम परिचालन र क्षमता विकास गर्ने काममा विद्यालयले योजना बनाउनु पर्ने बताउनुभयो ।
बुक फ्रि फ्राइडे कार्यक्रम सुरु भएपछि अहिले महानगरभित्रका विद्यालयहरुमा कक्षाकोठाहरू सजावट गरिएको छ । फर्निचरहरूमा सुधार गरिएको छ । यस्ता विषयमा विद्यार्थी र शिक्षकको समेत सक्रियता बढेको छ । काठमाडौं महानगरले ९० दिनको प्याकेजमा यो कार्यक्रम शुरु गरेको थियो । जसको समयावधि अहिले सकिएको छ । यो कार्यक्रम अन्तर्गत शुक्रबारका दिन महानगरभित्रका सामुदायिक विद्यालयहरुमा किताबी ज्ञानको सट्टा जस्तै पाकशिक्षा , सौन्दर्य शिक्षा, प्रस्तुतीकरण सिप, विश्लेषणात्मक चार्टको प्रदर्शन, हाजिरी जवाफ, श्रुतिलेखन, शब्दको अर्थ बुझ्ने विधि लगाएतका विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिएका थिए ।।

English
MTV NEPAL MTVNEPAL


