सामूहिक खेतीतर्फ आकर्षित हुँदै मुसहर समुदाय

महोत्तरी :  महोत्तरीको गौशाला नगरपालिका– ८ बेलगाछीका मुसहर समुदायका मानिस सामूहिकरुपमा तरकारीखेती गर्दै जीविकोपार्जनतर्फ लम्किँदै छन् । बेलगाछीका ६० घरपरिवारले बस्तीको छेउमा रहेको सोनी नदीको बगरको जग्गालाई उपयोग गरी सामूहिकरुपमा तरकारी खेती गर्दै आएका छन् । प्रायः उक्त समुदाय अरुको खेतमा मजदूरी गरी कृषि मजदूरको पहिचानको अन्त्य गरी स्वाभिमानीको पहिचान दिलाउन सामूहिकरुपमा खेतीपाती गर्दै आएको स्थानीय दुखरन सदाले बताउनुभयो ।

पहिले पहिले दिनभरि मजदूरी गर्ने र साँझको समयमा मदिरामा लट्ठिने मुसहर दिनभरि खेतमा काम गर्ने र साँझको समयमा परिवारसँग बिताउने गरेका बस्तीकी जागरण सदाले बताउनुभयो । नदी छेउको बगर जग्गामा तरकारीखेती गर्दै आएपछि बस्ती छेउमा रहेको फोहर सफा हुनुका साथै उनीहरुलाई आर्थिकरुपमा सहयोग हुँदै आएको शिक्षक रामनाथ यादवले जानकारी दिनुभयो ।

मुसहर समुदायका ६० घरपरिवारलाई एक÷एक कट्ठाका दरले तरकारी खेतीका लागि एकै ठाउँमा जग्गा उपलब्ध गराएर नगरपालिकाले नमूना कार्य गरेको स्थानीय अरुणकुमार महतोले प्रतिक्रिया दिनुभयो । स्थानीय जनजागरण कृषि समूहले उनीहरुलाई यसरी जग्गा उपलब्ध गराएर आधुनिक प्रविधि प्रयोग गरी प्राङ्गारिक खेती गराउँदै आएको महतोले जानकारी दिनुभयो ।

यस सम्बन्धमा समूहका अध्यक्ष एवं प्राङ्गारिक खेतीका अभियन्ता काशी महतोका अनुसार प्राङ्गारिक खेतीलाई प्रचारप्रसारको उद्देश्य हेतु उनीहरुलाई तरकारी खेतीका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको हो । सो जग्गामा विभिन्न किसिमका मौसमी तरकारीबाली आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन गरेर नमूना कार्यको थालनी गरिएको अध्यक्ष महतोले बताउनुभयो ।

तत्काल आफ्नो वडामा रहेको मुसहर समुदायलाई सामूहिकरुपमा तरकारी खेती गर्नका लागि नगरपालिकाले अनुमति दिइ परीक्षणका रुपमा प्रयोगमा ल्याएको वडाध्यक्ष भोजबहादुर दर्लामीले बताउनुभयो । यसरी नमूना खेतीका रुपमा सो क्षेत्रमा गरिने खेतीपातीका लागि आवश्यकपर्ने हरेक किसिमको सहयोग गर्नका लागि नगरपालिका तयार रहेको वडाध्यक्ष दर्लामीले जनाउनुभएको छ ।

वडाध्यक्ष दर्लामीले नगरपालिकाको कार्यालय यस्ता जग्गा खोजबिन गरेर नगरका सुकुम्बासीलाई खेतीपातीलाई उपलब्ध गराउनका लागि आवश्यक प्रक्रियामा रहेको जानकारी दिनुभयो । सामूहिक खेती एवं आधुनिक खेतीका रुपमा परिचित रहेको प्राङ्गारिकखेतीतर्फ किसानलाई आकर्षित गर्नका लागि नगरपालिकाले आकर्षक प्याकेज ल्याउने तयारी गरेको नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो ।

उहाँले किसानको हकहितलाई ध्यानमा राखेर यस वर्षका लागि बजेट ल्याइएकाले चालु बजेटमा कृषि क्षेत्रले पहिलो प्राथमिकता पाएको जानकारी दिनुभयो । किसानका लागि मलखाद्यको सुलभ व्यवस्था, सिँचाइ, बीउबिजन लगायतका सवालमा नगरपालिकाले सुधारोन्मुख तरिकाले कदम उठाइने नगरप्रमुख महतोले बताउनुभयो ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com