बालबालिकाको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनको अफगानिस्तानस्थित कार्यालयमा बुधबार आक्रमण भएको छ । आक्रमणमा २ जनाको मृत्यु हुनाका साथै १२ घाइते भएका छन ।
आक्रमणकारीहरूले पूर्वी अफगानिस्तानको जलालाबादस्थित कार्यालयमा आक्रमण गरेका हुन । स्थानीय समयअनुसार बिहान ९ बजे एक आत्मघाती आक्रमणकारीले कार्यालयको गेटमा गाडीमा विस्फोट गराएपछि आक्रमण गरेको थियो । सुरक्षाकर्मीको जवाफी कारबाहीमा दुई आक्रमणकारी मारिएका छन । त्यति बेला कार्यालयभित्र ५० कर्मचारी रहेको जनाइएको छ ।
आक्रमणमा तीन बन्दुकधारी संलग्न रहेको र कार्यालयको माथिल्लो तलामा सुरक्षाकर्मी र आक्रमणकारीबीच संघर्ष चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । उक्त क्षेत्रमा अन्य अन्तर्रा्ष्ट्रिय संस्थाका साथै सरकारी कार्यालय पनि छन ।
आईएसले समाचार समिति अमाकमार्फत घटनाको जिम्मेवारी लिएको छ । तालिवानले भने आक्रमणमा आफ्नो संलग्नता नरहेको ट्वीटरमार्फत जनाएको छ ।
सेभ द चिल्ड्रेनले विज्ञप्ति जारी गर्दै आक्रमण घटनाले आफू दुखी रहेको र कर्मचारीको सुरक्षाप्रति चिन्तित रहेको जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


