आइतबार बस्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समिति बैठक स्थगित भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौसम प्रतिकुलताका कारण काठमाडौं आउन नसकेपछि बैठक बस्न ढिलाई भएको हो। केही दिनदेखि गृह जिल्ला चितवनमा रहेका प्रचण्ड खराब मौसमका कारण जहाज नचलेपछि त्यहीँ रोकिएका थिए। प्रचण्डको निजी सचिवालयका अनुसार उनी आइतबार सडकमार्ग हुँदै काठमाडौं आउँदैछन्।
उनी काठमाडौं आएपछि राजनीतिक भेटघाट हुने सम्भावना भने छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालय र प्रचण्डको निजी सचिवालयले दुई अध्यक्षहरूबीच भेट हुने सम्भावना नकारेनन्। ‘उहाँ आएपछि भेटघाट हुन पनि सक्छ तर टुंगो लागेको छैन’, अध्यक्ष ओलीका प्रेस सहयोगी चेतन अधिकारीले भने। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले पनि काठमाडौं आएपछि भेटबारे टुंगो लाग्ने जानकारी दिए। एमाले अध्यक्ष ओली आगामी २६ गते उपचारका लागि थाइल्यान्ड जाँदैछन्। त्यसअघि एकताका एजेन्डा तय गर्ने तयारीमा नेताहरू छन्।

English
MTV NEPAL MTVNEPAL


