२३ पुस, काठमाडौं । चालु आर्थिक वर्ष ०७४÷७५ का पाँच महिनामै वैदेशिक लगानीको परिमाण गत आव ०७३÷७४ को सीमानजिक देखिएको छ ।
उद्योग विभागले गत वर्ष कुल १५ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको थियो । यसपालि पाँचै महिनामा १३ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत भइसकेको छ । पाँच महिनामा करिब एक सय ४२ वटा उद्योगका लागि उक्त रकम स्वीकृत भएको हो ।
आर्थिक वर्ष ०७२÷७३ मा ठूलो मात्रामा वैदेशिक लगानी भित्रिन सकेको थिएन । र, आव ०७३÷७४ मा पनि त्यसले निरन्तरता पाएको थियो ।
पाँच वर्षयता तथ्यांक विश्लेषण गर्दा प्रस्तावित उद्योगको संख्या बढेको छ । आव ०७३÷७४ मा तीन सय ९८ वटा उद्योगका लागि विभागले लगानी स्वीकृति दिएको थियो । आव ०६९÷७० मा उक्त संख्या तीन सय १७ थियो ।
यस वर्ष दुई अर्बभन्दा ठूलो लगानीका आठ वटा उद्योग खोल्ने गरी वैदेशिक लगानी स्वीकृत भएको छ । जडीबुटी, बेभरेज, सिमेन्टजस्ता क्षेत्रमा यस वर्ष त्यस्तो लगानी भित्रिँदैछ ।
सानो परिमाणको लगानीबाट कपडा उद्योग खोल्ने स्वीकृति बढी दिइएको देखिन्छ । १२ वैशाख ०७२ को विनासकारी भूकम्पपछि अमेरिकाले नेपालमा उत्पादित ६५ वटा वस्तु आयातमा कर छुट दिएको छ । अमेरिका निर्यात गर्ने उद्देश्यले कपडा उद्योग खोल्ने क्रम बढ््नुको कारण पनि त्यही हो ।
राष्ट्र बैंकको अध्ययनअनुसार हालसम्म विदेशी लगानीसहित आएका दुई सय ५२ वटा कम्पनीमध्ये ३७ ले मात्रै उत्पादन क्षेत्रमा लगानी गरेको देखिएको छ । तीमध्येका पनि ११ वटाले मात्र उत्पादित वस्तु विदेश निर्यात गरिरहेका छन्।

English
MTV NEPAL MTVNEPAL


