लगातार तिन दिन परिक्षण गरेपछि सरकारी स्वामित्वको कम्पनी औषधि लिमिटेडले सिटामोल उत्पादन सुरू गरेको छ ।
करिब सात वर्षपछि सोमबार बाट व्यवसायिक रुपमा सिटामोल फेरि उत्पादन सुरु गरिएको छ । फागुनभरि उत्पादन मात्रै गर्ने र चैतबाट सिटामोल बजारमा वितरण गरीने भएको छ ।
कम्पनीबाट एकपटकमा ८० हजार सिटामोल उत्पादन हुन्छ । परीक्षण उत्पादन पनि ८० हजार सिटामोल उत्पादन गरीएपनि उक्त उत्पादित सिटामोल बजारमा पठाईने छैनन् । उत्पादित सिटामोलको बजारमूल्य एक रुपैयाँ तोकिएको छ । सिटामोल उत्पादनकै लागि भनेर कम्पनीले ५० लाख रुपैयाँको उपकरण भित्र्याएको छ ।
सिटामोलबाहेक कम्पनीले बजारमा धेरै खपत हुने एन्टिबायोटिक औषधिसमेत उत्पादन गर्ने लक्ष्य लिएको छ ।
औषधि उत्पादनका लागि कम्पनीलाई अर्थ मन्त्रालयले १४ करोड ६५ लाख रुपैयाँ बजेट निकासा गरेको छ । मन्त्रालयले पहिलो चरणमा ६ करोड ४८ लाख रुपैयाँ दिए पनि बाँकी रकम नआएको कम्पनी सञ्चालक समिति सचिव टीकाराम अर्यालले बताए । विगतमा कम्पनीबाट १ सय २० प्रकारका औषधि उत्पादन हुन्थ्यो । विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन मापदण्ड पूरा गर्न नसकेकाले २०६७ सालमा औषधि उत्पादन बन्द गरिएको थियो ।
मापदण्ड व्यवस्थापनका लागि अहिले कम्पनीले गुणस्तर नियन्त्रण शाखा खोलेर अनुसन्धान कार्य अघि बढाइरहेको छ । देशभर बर्सेनि १५ करोड सिटामोलको माग रहेको छ ।

English
MTV NEPAL MTVNEPAL


