शुक्रबार, ५ माघ, २०७४ मा प्रकाशित,
पश्चिमी सीमाको प्रमुख भन्सार नाका गड्डाचौकी भन्सार कार्यालय परिसरवाटै व्यापारीका सामानहरु हराउने र चोरी हुने खुलासा भएको छ ।
भारतिय सिमावर्ती शहर वनबासाबाट ट्रान्सर्पोट कम्पनीले महेन्द्रनगरका व्यापारीको सामान भन्सार कार्यालय मार्फत पठाएको सामान व्यापारीले नउठाउँदासम्म भन्सार परिसर भित्र सामान राख्न वनाईएका यार्डहरुमा राखिने गरिएको छ ।
तर भन्सार परिसर भित्रवाटै सामानका पोका काटेर त्यस भित्रको सामान चोरी गरी लैजान लागेको भन्सार कार्यालयकै सिसिटिभि फुटेजमा फेला परेको तथ्य वाहिर आएको हो ।
भन्सार कर्मचारीहरुले कार्यालय परिसर भित्र राखेको मालसमान सम्वन्धित पक्ष आएमात्रै जिम्मा लगाउनुपर्ने हो तर कार्यालयमा कर्मचारीको अभावका कारण व्यवस्थापन गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ ।
विगत लामो समयदेखि भन्सार परिसरवाट मालसमानको परिमाण कम हुने गरेको भएपनि पछिल्लो समय भने कार्टुन नै गायव हुन थालेपछि व्यापारीहरुले छानबीनको माग गरेका छन् ।
कार्यालय परिसरबीच भागबाटै सर्वसाधारण आवत जावत समेत गर्ने गरेको र केहि व्यक्तिहरुले व्यापारीको सामानलाई जथाभावी चलाउने र केहिले सामान लगेरै गएको कार्यालयमा रहेको सिसिटिभि फुटेजमा देखिएको छ ।
भन्सार प्रमुखलगायत अन्य कर्मचारीको कार्यकक्षमा लाखौंको फर्निचर र डेकोरेशन गरिएको छ ।
तर करोडौको मालसमान सुरक्षाका लागी परिसरमा १०÷१५ हजारको तारबारसम्म कार्यालयले लगाउन नसकेको भन्दै कर्मचारीकै चरम लापर्वाहीका कारण आफुहरुका मालसमान चोरी हुने गरेको व्यापारी बताउँछन् ।
भन्सार कार्यालयको कमजोरी रहेकोे स्वीकार गर्दै भन्सार कार्यालयको परिसर वरिपरि छिट्टै तारवार लगाउन पहल गर्ने गड्डाचौकी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद पोख्रेल बताउँछन् ।

English
MTV NEPAL MTVNEPAL


