अचानक घोषणा गरिएको भ्रमण अन्तर्गत साउदी अरेबिया पुगेका फ्रान्सका राष्ट्रपति एम्यानुएल मक्रोंले, साउदी नेताहरुसँगको भेटवार्तामा लेबनानको स्थिरताको महत्वबारे जोड दिने बताएका छन्। लेबनानसँग फ्रान्सको निकट सम्बन्ध रहेको छ। साउदी दबाबका कारण, रियादबाटै लेबनानका प्रधानमन्त्री साद ह्यारिरिले राजीनामा दिएको आंशका व्यक्त भइरहँदा मक्रों त्यहाँ पुगेका हुन्। विश्लेषकहरुले साउदी अरेबिया र उसको मुख्य प्रतिद्वन्द्वी इरानबीचको बृहत द्वन्द्वमा लेबनान तानिएको टिप्पणी गरेका छन्। साउदी अरेबीयाले आफ्ना नागरिकहरुलाई तत्कालै लेबनान छाड्न भनेको छ। साउदी विदेशमन्त्रालयले कुनै पनि देशबाट लेबनानको यात्रा नगर्न पनि आफ्ना नागरिकलाई भनेको छ। साउदी विदेशमन्त्रालयको पछिल्लो आग्रहले लेबनानमा थप तनाव चर्काउने देखिन्छ। प्रधानमन्त्री साद ह्यारिरि र उनको अवस्थाबारे त्यहाँ चासोहरु बढिरहेका छन्।
उनको आफ्नै राजनीतिक गुट ‘द फ्युचर मुभमेन्ट’ले लेबनानको शासन पद्धति कायम राख्न साउदी अरेबियाबाट उनी देश फर्कनुपर्ने बताएको छ। लेबनानका पूर्व प्रधानमन्त्री फुवाद असिनियोरा भन्छन्, “प्रधानमन्त्री र हाम्रा राष्ट्रिय नेता साद ह्यारिरि लेबानानको आन्तरिक र बाह्य सन्तुलनको सम्मानलाई सुनिश्चित गर्न स्वदेश फर्कन जरुरी छ।” लेबनानका विदेशमन्त्रीले टिवटरमा साउदी अरेबिया लक्षित कडा टिप्पणीमा आफ्ना नेताको भनेर चुन्ने जिम्मेवारी लेबनानी जनताको भएको उल्लेख गरेका छन्। धेरै लेबनानीहरुले ह्यारिरिलाई पद छाड्न साउदी अरेबियाले दबाब दिएको ठानेका छन्। यसैबीच मध्यपूर्वको भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति केही घण्टा अघि मात्रै अप्रत्याशित रुपमा घोषणा गरिएको एउटा भ्रमण अन्तर्गत साउदी अरेबिया पुगेका छन्। उनले साउदी नेताहरुसँग लेबनानका बारेमा कुरा गर्ने बताएका छन्।
उनले साउदी नेतृत्वलाई यमनमा भोकमरी नियन्त्रणका लागि सघाउन पनि आग्रह गर्ने बताएका छन्। साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोहीसम्म अस्त्रको पहुँच पुग्नबाट रोक्न बन्दरगाहहरु बन्द गरेको छ। विश्लेषकहरुले साउदी अरेबीया र इरानबीचको शक्ति संघर्षमा यमनजस्तै गरी अब लेबनान पनि तानिन लागेको बताएका छन्। BBC

English
MTV NEPAL MTVNEPAL


