नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि चुनाव हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले संसदीय दलको नेता चयनका लागि फागुन २१ गते चुनाव गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । समितिको सदस्यमा नवीन्द्रराज जोशी र भीष्म आङ्दाम्बे हुनुहुन्छ ।
कांग्रेसको संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह र महामन्त्री सशांक कोइरालाले दाबी गर्दै आउनुभएको छ । निर्वाचन समितिले सकेसम्म सहमति र सहमति हुन नसके मतदान गर्ने समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
फागुन २० गते प्रतिनिधिसभाका सांसदले संघीय संसदमा शपथ खाने भएकाले २१ गते पार्टीले चुनाव गरेर भए पनि संसदीय दलको नेता चयन गर्ने श्रेष्ठले बताउनुभयो ।
यस्तै आइतबारको केन्द्रिय कार्यसमितिको बैठकले संघीय संसदीय दलको परिमार्जित विधान अनुमोदन गरेको छ । यसअघि शनिबार बसेको कांग्रेसको संसदीय दलको बैठकले विधान पारित गरेर केन्द्रीय कार्यसमितिमा पठाएको थियो ।

English
MTV NEPAL MTVNEPAL


