३ जनवरी, स्पेन । एनआरएन नागरिकताको बिषयलाई कसरी निरन्तरता दिने भन्ने बिषयमा छलफल भईरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले एनआरएन नागरिकता सम्बन्धी ऐन ड्राफ्ट भइरहेको बताएका छन्् ।
गत साता बेल्जियममा एनआरएनहरुसँग छलफल गर्दै सहसचिव ढकालले भने, ‘नेपालको संबिधान २०७२ ले एनआरएनलाई सामाजिक आर्थिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भन्ने प्राबधान गरेको छ। त्यसलाई कुन रुपमा अगाडि बढाउने भन्ने बिषयमा त्यसको ड्राफ्ट भइरहेको छ। एनआरएन ऐन तथा नियमावलीमा केही कमी तथा कमजोरीहरु पनि देखा परेका छन््। ऐन ड्राफ्टसँगै त्यसलाई पनि संशोधन गर्नका लागि प्रक्रिया अघि बढाएका छौ ।’
नागरिकता सम्बन्धी ऐनले ल्याउने अधिकारहरु हेरेर एनआरएनएन ऐन तथा नियमावली संशोधन हुने ढकालले बताए ।
एनआरएनहरुकै सुझावका आधारमा स्मार्ट , बोक्न र देखाउन सजिलो एनआरएन परिचय पत्र कार्ड तयार भइसकेको पनि परराष्ट्र अधिकारीहरुले जानकारी दिएका छन्् ।
नेपालमा एनआरएन लगानीका केही प्राबधानहरु नेपाल राष्ट्र बैंकले तोकेको बताउँदै अधिकारीहरुले भने, ‘ती प्राबधानहरुलाई बेलैमा फलोअप गर्नुभयो भने पछि समस्या आउँदैन । अहिले राष्ट्र बैंकलाई जानकारी नदिई लगानी गर्ने हो भने पछि त्यसको लाभ वा अन्य कुरामा समस्या आउन सक्छ ।’
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्य,सचिव जानकी गुरुङ,महिला संयोजक रजनी प्रधान लगायत युरोपस्थित एनआरएन अभियन्ताहरुको सहभागिता रहेको थियो । बेल्जियम, बेलायत, स्पेन, स्विडेन, डेनमार्क लगायतका मुलुकहरुबाट एनआरएनहरु सहभागी थिए ।

English
MTV NEPAL MTVNEPAL


