पुस १६ – गएको तीन दिनदेखि सुरु भएको प्रदर्शनले इरानमा हिंसात्मक रुप लिएको छ । इरानको उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन देशका धेरै शहरमा फैलिएको छ । मूल्य वृद्धि तथा जीवनस्तर खस्किएको विरोधमा सुरु भएको प्रदर्शनले इस्लाम धर्मगुरुहरुले शासन सत्ता विरुद्ध आवाज उठाएपछि त्यसले ठूलो रुप लिएको हो ।
राजधानी तेहरानसहितका देशका धेरै शहरमा प्रदर्शन भएको छ । इरानमा सन् २००९ पछि भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन रहेको अन्तर्राष्ट्रिय माध्यमले जनाएका छन् ।
सामाजिक सञ्जालमा जारी गरिएको भिडियोमा प्रदर्शनमा दुई जनाको ज्यान गएको दाबी गरिएको छ । दोरुद शहरमा भएको प्रदर्शनको क्रममा गोली लागेर उनीहरुको ज्यान गएको हो । प्रदर्शन चर्किँदै गएको र सरकारी सुरक्षाकर्मीले सुरक्षा सतर्कता बढाएको बताइए पनि यकिन विवरण भने आएको छैन ।
सरकारले मानिस भेला भएर प्रदर्शन नगर्न भन्दै चेतावनी जारी गरेको थियो । तर सामाजिक सञ्जालमा प्रदर्शनको पक्षमा उभिन आग्रह गरिएको छ ।
इरानमा यस्तो किसिमको सरकार विरोधी प्रदर्शन निकै कम हुने भएकाले सरकार चिन्तामा रहेको बिबिसीले जनाएको छ । देशको अर्थ व्यवस्थामा आएको समस्याका कारण राष्ट्रपति हसन रुहानी समस्यामा हुनुहुन्छ ।

English
MTV NEPAL MTVNEPAL


