जिल्ला अस्पताल उदयपुरमा इमर्जेन्सी कक्षमा समेत बिरामीका लागि चिकित्सक र कर्मचारी नभएपछि जिल्ला प्रशासन कार्यालय, उदयपुरले अस्पताल प्रशासनलाई मंगलबार साँझ कडा कारबाही गर्ने कदम चालेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ स्थित सिटेनीपाखामा मंगलबार अपराह्न २ः३५ बजे बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने तीनजना सख्त घाइते भएका थिए । प्रशासनले घटनास्थलमा एम्बुलेन्स पठाएर जिल्ला अस्पतालमा घाइतेलाई उपचारका लागि ल्याउँदा अस्पतालमा डाक्टर तथा कर्मचारी नै नभएपछि अस्पतालको चरम लापर्बाही भएको ठहर गर्दै अस्पताल प्रशासनविरुद्ध कडा कदम चाल्न शुरु गरिएको कुरा प्रजिअ कँडेलले बताए । अस्पतालको इमर्जेन्सी कक्षमा ड्युटीमा रहेका डाक्टर अमित मिश्रसमेत नभएपछि बाध्यताबस जिप दुर्घटनाका घाइतेलाई प्रशासनले उपचारका लागि विराटनगर रिफर गरेर अस्पतालका डाक्टरलाई कारबाहीका लागि खोजी कार्य थालिएको कुरा पनि प्रजिअ कँडेलले बताए ।
अस्पताल प्रशासनको लापर्बाही भएका कारण आफूले अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीलाई समेत उपस्थित गराएर ड्युटी छाडेर हिँडेका डाक्टर मिश्रको समेत प्रहरीले खोजी कार्य शुरु गरेको प्रजिअ कँडेलले बताए । यसका लागि आफूले स्वास्थ्य मन्त्रालयमा समेत जानकारी गराइसकेको र अस्पतालमा कर्मचारी तथा स्वास्थ्यकर्मी नै नहुनुको चरम लापर्बाहीविरुद्ध आफैँले कारबाही प्रक्रियासमेत अगाडि बढाएको पनि प्रजिअ कँडेलले बताए । यता अस्पतालका कामु डाक्टर मिश्रलाई अहिले जनताबाट खतरा भएका कारण खोजी कार्य शुरु गरेर अस्पतालमा समेत सुरक्षा दिन प्रहरी परिचालन गरिएको उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए ।

English
MTV NEPAL MTVNEPAL


