नारायण भण्डारी । नेपाली राजनीति अहिले सत्ताको मोलमोलाई र बाँडफाँडमा रुमलिएको छ । चुनाव भएको महिना दिन वितिसक्दा पनि सरकार गठनको काम कता हो कता हराएको छ । जुन उत्साहबाट चुनाव सम्पन्न भयो त्यहीँ उत्साह यतिबेला हराइसकेको छ । जसरी चुनावमा वामगठबन्धनको स्पष्ट बहुमत आयो यो त्यत्तिकै आएको होइन विगतमा असाध्यै राम्रो काम गरेको हुनाले त्यसको प्रतिफलमा आएको पनि होइन । यो कुरालाई सम्बन्धित पक्षले मनन गर्नुपर्ने हुन्छ । यद्यपि केही न केही विश्वास र भरोसा भने वाम गठबन्धनमाथि भएकै हो । चुनावी परिणाम एकपटक आउदैमा त्यसले सधैभरी राज गर्न पाउने पनि होइन त्यसको अग्निपरीक्षा केही समयपछि हुन्छ र त्यसको पनि सामना गर्नुपर्ने हुन्छ । जनताको विश्वास जित्न नसकेपछि जो कोही पराजित हुनुपर्छ । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो । तुलनात्मक रुपमा हेर्दा नेपालमा छरिएर रहेका कम्युनिष्टहरुलाई एकत्रित गर्दा वामगठबन्धनकै पक्षमा बहुमत आउने स्पष्ट आधार देखिन्थ्यो त्यो कुरा जनमतको प्रकटबाटै प्रष्ट छ । अहिलेको निर्वाचनमा त्यो संयोग जुर्यो र कम्युनिष्टहरु एकठाउँमा उभिए तुलनात्मक रुपमा मतको भार वामगठबन्धनको पोल्टामा पर्यो । यो स्वाभाविक पनि छ कि दुईओटा पार्टी मिल्दा हुने परिणामको सामना एक्लाएक्लै गर्दा निकै चुनौतिपूर्ण हुन्छ । कांग्रेस त्यसकै मारमा पर्यो । तर कुरा यत्ति मात्रै भने अवश्य होइन । यो समयमा कांग्रेसले जनताको विश्वास गुमाएकै हो । जनतालाई बेखुसी बनाएकै हो जनताको चाहनालाई नबुझेकै हो । कांग्रेसको यस्तो किसिमको बदनामी र कुकृत्यबाट अधिकांश जनता कांग्रेसप्रति वितृष्णा र अविश्वास गर्न बाध्य भए यो फरक कुरा हो कि कांग्रेसले जे गर्यो सबै नराम्रो गर्यो भन्ने चाँही होइन । मधेशीको आन्दोलनलाई चासो दिँदै मधेशवादी दललाई फकाउँदै फुल्याउँदै चुनावी प्रकृयामा समेत सामेल गरायो । आन्दोलनको विषयलाई अस्थाई रुपमै भएपनि अवतरण गरायो । निर्वाचनको जिम्मेवारी सफलतापूर्वक पूरा गर्यो । मुलुकलाई एउटा निकास दियो ।
यी कुराको जसभन्दा केही यस्ता बदनामी र विवादास्पद काम गर्यो जसले कांग्रेसको अस्तित्व नै संकटमा पुर्यायो । निकै नमज्जाले चुनावी हार बेहोर्यो । नेपाली कांग्रेसप्रति भरोसा राख्नेहरुको जमात ठूलो हुँदा हुँदै पनि कांग्रेस हार्यो । यसरी हार्यो कि इतिहासमै सबैभन्दा लज्जाजनक तरिकाले । कांग्रेसको राजनीतिक संस्कार र मूल्य मान्यताप्रति गर्ब ,सद्भाव र विश्वास गर्नेहरु पनि प्रशस्तै छन् । यस्तो भनौँ कांग्रेस आफ्नै कमजोरीले हार्यो यसमा कतिपय प्राविधिक विषयहरु पनि होलान् । अब केही समय सत्ताबाहिर भौतारिनुपर्नेछ । इतिहासमै सबैभन्दा बढी समय सत्ताको आसनमा टेकिएको कांग्रेसलाई बाहिर बस्नुपर्दा खल्लो लाग्ने नै छ । तर पनि यसको कुनै विकल्प छैन । सम्भवतः अहिलेको राजनीतिक समीकरण विथोलिएन भने र पार्टी एकिकरण पनि भयो भने कांग्रेसलाई अब राजनीतिको केन्द्रीय तहमा पुग्न निकै लामो समय, ठूलो त्याग र चमत्कारको आवश्यक पर्नेछ केही समयका लागि कम्युनिष्ट दलको कब्जामा नेपालको शासन सत्ता चल्नेछ । यद्यपि चुनाव भने भइरहनेछन् । विगत लामो समयदेखिको कांग्रेसको सर्वोच्चता तोडिएको छ । चुनावी जोडघटाउमा कांग्रेस निकै ठगिएको छ । यसको सामना कांग्रेसलाई निकै चुनौतिपूर्ण हुनेछ । आफ्नो अस्तित्व बचाउका लागि कांग्रेसले जुनसुकै कदम चालेर भएपनि गठबन्धनको डोरी छिनाउनुपर्नेमा आफ्नो अन्तिम सफलता देखेको छ । कांग्रेसका होनाहार र निकै भरोसा गरिएका व्यक्ति पनि पराजित हुँदा धेरै आश्चर्यचकितमा परेका छन् । जसरी बाहिर वामगठबन्धनको चर्चा र पार्टी एकताको कुरा उठेको छ त्यो आफैमा सहज भने देखिदैन यद्यपि असम्भव भने छैन । सबैभन्दा ठूलो चुनौतिका रुपमा रहेको गठबन्धन नतोडेमा कांगे्रस कहाँ पुग्छ भन्न सकिदैन । यो कुरा कांग्रेसले राम्ररी बुझेको छ । तर जो कोहीले त्यत्तिमात्र गर्न सक्छ जति गर्न सम्भव छ ।
यदि वामगठबन्धन आफ्नो प्रतिबद्धतामा दृढ बनी शक्ति, सत्ता र पदीय लोलुपतालाई गौण बनाएर पार्टी एकिकरण गर्यो भने गठबन्धनको राम्रो भविष्य देखिन्छ । त्यसबाट जनताको भरोसा पनि घट्ने छैन । चुनावमा जुन किसिमको प्रतिबद्धता व्यक्त गरेका थिए त्यो पूरा गर्न पनि गठबन्धन तोडिनु हुँदैन । वामगठबन्धनको सरकार बनेपछि पनि पात्र र चरित्र विगतकै भएकोले ठूलै चमत्कारी परिवर्तनको छलाङ् पार्ने कल्पना पनि गरिहाल्नुपर्ने स्थिति देखिदैँन यद्यपि यो असम्भव भने होइन । प्रसंग छ सरकार गठनको वामहरुको गठजोड भएपछि नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो चुनौति र चिन्ताको विषय भनेको यी दुई पार्टीबीचको डोरी कसरी छिनाउन सकिन्छ भन्नेतिरै केन्द्रीत भइरहेको छ । त्यसको प्रयास चुनावअघिबाटै गरेपनि सफल भने अझैसम्म बन्न सकेको छैन । त्यसको सम्पूर्ण भरोसा र जिम्मा प्रचण्डकै हातमा छ । कांग्रेसले यो गठबन्धन रहिरह्यो भने आगामी ५ वर्ष त त्यसै पछि परियो अर्को चुनावमा पनि करीब करीब यस्तै नतिजा आउने डरले प्रचण्डसँग मिल्नको लागि जस्तोसुकै मूल्य चुकाउन तत्पर भएको भान हुन्छ । नत्र भने चुनावमा तेस्रो बनेको माओवादीलाई प्रधानमन्त्रीको औपचारिक रुपमै अफर गर्नु कत्तिको वाञ्छनीय हुन्छ । एउटा नैतिक मूल्य रहेको पार्टीको लागि यो अस्वस्थ कदम सुहाउने कुरो पटक्कै होइन । यदि पार्टी एकता गर्दा कुरा नमिलेमा प्रचण्डले विकल्पको रुपमा त्यस बाटोमा जाने अड्कल पनि लगाउन सकिन्छ भने एमालेले पनि संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रयास भित्रभित्रै थालेको समाचार पनि बाहिरिएका छन् । यस विषयमा फोरमले स्पष्ट प्रतिकृया नदिएकोले एमालेले त्यो कदम नचालेको हुन सक्छ । तर पनि एमालेमा भने माओवादीलाई लत्याएर सरकार बनाउन नहुने तर्क पनि प्रबल रुपमा उठेको छ । माओवादी र एमाले बाहेकको गठबन्धन त्यत्ति सुरक्षित भने देखिदैन । तत्काल केपी ओली प्रधानमन्त्री हुने संभावन प्रबल भएपनि प्रचण्ड पनि अर्को बाटोबाट प्रधानमन्त्री हुन सक्ने संभावनालाई नकार्न सकिन्न । त्यसो भएमा आम जनभावनामा केही वितृष्णा पैदा हुने निश्चित छ ।

English
MTV NEPAL MTVNEPAL


