अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कंग्रेससमक्ष दिएको पहिलो स्टेट अफ द युनियन सम्बोधनमा अमेरिकामा नयाँ युगको शुरुवात भएको बताएका छन् । मंगलवार राति प्राइमटाइम समयमा गरिएको सम्बोधनमा रिपब्लिकन नेता ट्रम्पले विपक्षी डेमोक्रेटहरूसँग मिलेर काम गर्नका लागि ‘हात अघि बढाएको’ बताए । ट्रम्पले विवादास्पद गुआन्तानामो बे कारागारलाई सञ्चालन गरिरहने आदेश दिएको बताए । उनका पूर्ववर्ती बाराक ओबामाले यो हिरासत केन्द्र बन्द गर्ने निर्देशन जारी गरेका थिए । अहिले अमेरिकी अर्थतन्त्रमा प्रगति भएको छ तर ट्रम्पको समर्थन सूचकांक खस्केको छ ।
एक वर्षअघि शपथग्रहणका बेलामा अमेरिकाको भयावह तस्वीर प्रस्तुत गरेका ट्रम्पले अहिले त्यसभन्दा फरक आशावादी सन्देश दिए । उनको प्रशासनले ‘सुरक्षित, सशक्त र गर्विलो अमेरिका बनाइरहेको’ ट्रम्पले बताए । ‘अमेरिकी सपनालाई बाँच्ने सबभन्दा उपयुक्त समय यही हो,’ उनले सांसदहरूलाई बताए । ट्रम्पको सम्बोधनलाई कम्तीमा चार करोड दर्शकले हेरेको अनुमान गरिएको छ । सम्बोधनमा उनले राष्ट्रलाई ‘एकजुट टोली, एकजुट जनता र एकजुट अमेरिकी परिवार’ का रूपमा सँगै उभिन अनुरोध गरेका छन् । विदेशनीतिको कुरा गर्दा उनले प्योङयाङको आणविक क्षेप्यास्त्रमोहले अमेरिकी भूमिलाई जोखिममा पारेको बताए ।

English
MTV NEPAL MTVNEPAL


