थारु समुदायको प्रमुख चाड माघी आज देशभर मनाँईदैछ । थारु समुदायको मौलिक संस्कृति झल्किने मुख्य चाड हो माघी ..यसलाई मकर सङ्क्रान्ति अर्थात माघे सङ्क्रान्ति पनि भन्ने गरिन्छ । माघी पर्व मगर समुदायको पनि ठुलो पर्व हो । माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ ।
हाम्रो गाउँ समाजमा पुषमा पकाएर माघ खाने भन्ने चलन छ । विशेषगरि पुषको अन्तिम रात जागराम बस्ने, सबैजना भेला भएर आगो बालेर गफगाफ गर्ने यस्तै तरुल ,सखरखण्ड,पिँडालु ,वनतरुल जस्ता कन्दमुल उसिनेर खाने गरिन्छ । १२ बजेपछि माघ महिना शुरु हुनेभएकाले पुषमा पकाएर माघमा खाने भन्ने गरिएको बुढापाकाले भन्ने गरेका छन् ।
पुषको मसान्तमा सँुगुर काट्ने चलन पनि छ । मगर समुदायले विभिन्न परिकार पकाएर माघीलाई विषेशरुपमा मनाउने गरेका छन् भने ढिकरी माघीमा थारु समुदायले खाने विशेष परिकार हो । माछा ,घोंगी,गंगटा पनि पकाउने गर्छन् थरु समुदायले…। माघीमा खिचडीलाई पनि विशेष परिकार मानिन्छ । विभिन्न मांसहारी खानेकुरा पकाएर जाँड–रक्सीको साथ खानपिन गरेर रातभर नाचगान गर्दै रमाइलो गर्ने प्रचलन रहिआएको छ ।
माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा गएर नुहाउने गर्दछन् । यसरी नुहाई तिलको आगो ताप्यो भने आफुले गरेको पाप पखालिन्छ भन्ने विश्वास रहिआएको छ । कतिले त माघीका दिन एका बिहानै कसैसंग नबोली खोलानालामा गएर स्नान गर्नुपर्दछ भन्ने पनि गर्दछन् । यसरी स्नान गरेर घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिने गर्दछन् । यसरी ढोगभेट गर्दा परिवारका मान्यजनले आफ्ना चेलीबेटीहरूलाई उपहार पनि दिने गर्दछन् । माघीमा आफ्नो घरमा मात्रै नभई गाउँभरि नै गएर ठुलाबडालाई ढोकभेट गर्ने,आर्शिवाद दिनेलिने र खानपिन गर्ने गरिन्छ ।
माघीलाई विशेषगरि पश्चिम भेगका थारु समुदायले मात्रै मनाउने गरेकोमा अहिले सबैभेगमा बसोबास गर्ने थारु समुदायले मनाउने गरेका छन् ।
काठमाडौंमा बसोबास गर्ने थारू,त्यस्तै मगर समुदायले माघीका अवसरमा हरेक वर्ष टुँडिखेल विभिन्न सांस्कृतिक महोत्सवको आयोजना गरेका छन् । आज पनि राजधानीको टुंडिखेलमा माघीका अवसरमा थारु अगुवाहरुको आयोजनामा राष्ट्रिय माघी महोत्सव २०८० आयोजना गरेको छ ।।

English
MTV NEPAL MTVNEPAL


