युवाअवस्था नै सबैथोक होइन र यसलाई साबित गर्छिन् ६९ वर्षीया मोडल मेये मस्कले । तर एलिना इसाशेंकाको रिपोर्टले प्रश्न गर्छ : उनको सफलता एक ट्रेन्डभन्दा बढी हो ? फेशन उद्योगको वेबसाइट फेशन स्पटका अनुसार, न्युयोर्क, पेरिस, मिलान र लन्डनमा हालै भएका स्प्रिङ २०१८ फेशन शोमा ५० र ६० वर्षका मोडलहरू धेरै देखिए । फेशन उद्योगमा सुन्दरता तथा उमेरका सम्बन्धमा रहेको पुरातनपन्थी धारणा तोडिँदै गएको हो ? उनान्सत्तरी वर्षीया मोडल मेये मस्क टेस्ला कम्पनीका संस्थापक तथा अर्बपति एलन मस्ककी आमा हुन् । उनी भन्छिन्, ‘मैले विगत ५० वर्षमा गरेबराबरको काम सन् २०१७ मा गरें ।’ क्यानाडामा जन्मेकी मेयेले दक्षिण अफ्रिकामा १५ वर्षको उमेरदेखि मोडलिङ गर्न थालेकी थिइन् । तर हालैका केही वर्षमा मेयेको करीयरमा छलाङ देखिएको छ ।
मेये अमेरिकी कस्मेटिक कम्पनी कभरगर्लको सबभन्दा वृद्धा ब्रान्ड एम्बेस्डर हुन् । दश नातिनातिनाकी हजुरआमा मेये मस्कले प्राकृतिक रूपमा आफ्नो कपाल सेतो हुँदा करीयरमा राम्रो सहायता पाइएको बताएकी छन् । तर सफल मोडल बन्नका लागि उनले धेरै चुनौतीहरूको सामना गरिन् । अल वाक बियोन्ड द क्याटवाककी निर्देशक डेब्रा बर्न भन्छिन्, ‘फेशनको यो कदमले जाति, उमेर र शारीरिक विविधतालाई प्रोत्साहन गर्छ । अधिक उमेरमा मोडलिङमा सफलता पाउनमा सामाजिक सञ्जालको ठूलो हात हुन्छ ।’ मनोचिकित्सक तथा पूर्व फेशन सम्पादक बोर्न भन्छिन्, ‘इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालका कारण बूढी महिलाहरूलाई मोडलिङमा सफलता प्राप्त भएको छ ।’ विशेषगरी मस्कको कुरा गर्दा उनी लगातार इन्स्टाग्राममा तस्वीर हाल्छिन् र उनका लगभग ९० हजार फलोअर छन् । मस्क भन्छिन्, ‘उमेर बढ्दै जाँदा प्रतिस्पर्धा घट्छ अनि अफरहरू पनि घट्छन् । तर लगातार सामाजिक सञ्जालमा पोस्ट गर्दा फलोअर बढाउन सकिन्छ । अनि सीधै बूकिङ पाइन्छ र अडिसन गर्न गइरहनु पनि पर्दैन ।’

English
MTV NEPAL MTVNEPAL


