बिहीबार, २७ पुष, २०७४ मा प्रकाशित,
काठमाडौं, पुस २७ । लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहर भएर मृत्युदन्ड सुनाइएका कैदीहरुको फैसला समीक्षा गर्ने इरानको न्यायपालिकाको तयारी रहेको छ ।
इरानको संसदले लागुऔषधको अपराधमा मृत्युदन्ड दिने प्रावधानलाई फेरबदल गरेपछि न्यायपालिकाले पनि कैदीहरुका फैसला समीक्षा गर्ने तयारी गरेको हो ।
मृत्युदन्ड सुनाइएका ती फैसलामा समीक्षा गर्नसकिने न्यायपालिका प्रमुख आयातोल्ला सादेग लार्जानीले स्थानीय सन्चारमाध्यमहरुसँग बताएका छन् ।
न्यायपालिका प्रमुखको भनाइ सार्वजनिक भएसँगै इरानको कानुनमा भएको सुधारका कारण त्यहाँ लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहर भइ मृत्युदन्ड सुनाइएका हजारौं कैदीको ज्यान जोगिनसक्ने बताइएको छ ।
संसदले कानुनमा परिवर्तन गरेपछि लागुऔषधसम्बन्धी केही अपराधमा मृत्युदन्ड हटाइएको छ । सुधारिएको कानुन पुराना फैसलाका हकमा पनि लागू हुने बताइएको छ ।
इरानमा हरेक वर्ष सयौंलाई दिईने मृत्युदन्ड मध्ये अधिकांश लागुऔषधसँग सम्बन्धित मुद्दाका दोषी हुने गर्छन्।
इरानको पुरानो कानुनमा भएको व्यवस्थाअनुसार ३० ग्राम कोकिन बरामद भएको व्यक्ति मृत्युदन्डको भागिदार बन्थ्यो । अब त्यसलाई सुधार गरेर दुई किलोग्राम बनाइएको छ । त्यसैगरी, अफिम तथा गाँजाको परिमाणलाई १० गुणाले बढाइ ५० किलोग्राम र्पुयाइएको छ ।

English
MTV NEPAL MTVNEPAL


