भर्खरै सम्पन्न्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि स्थिर सरकार बन्ने धेरैको अपेक्षा रहेको छ । जसबाट लगानीको उपयुक्त वातावरण बन्ने संभावना देखिएको छ । अहिले देशमा राजनीतिक स्थिरतासहितको उच्च आर्थिक बृद्धिको संभावना देखिएकोले विदेशी लगानीमा पनि चासो बढेको छ । विभागका अनुसार निर्वाचनपछि विदेशी लगानीको प्रतिबद्धता ह्वात्तै बढेको छ । चालू आर्थिक वर्षको पहिलो ५ महीनामा विभिन्न मुलुकबाट ११ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सो विदेशी लगानी प्रतिबद्धता १ सय ८६ प्रतिशतले बढी हो । विकासको प्रारम्भिक चरणमा रहेको नेपालमा अपेक्षित दरको उच्च आर्थिक वृद्धि प्राप्त गर्न विदेशी लगानी बढ्न आवश्यक भएको अर्थशास्त्री बताउँछन् । ‘सन् २०३० सम्म संयुक्त राष्ट्रसङ्घले अगाडि सारेको दिगो विकास लक्ष्य प्राप्तिमा दोहोरो अङ्कको आर्थिक वृद्धि र त्यसका लागि खर्बौंको लगानी भित्र्याउन जरुरी छ,’ एक अर्थशास्त्री भन्छन् ।
उद्योग विभागका अनुसार सबैभन्दा बढी लगानी प्रतिबद्धता उत्पादन तथा प्रशोधन उद्योगमा आएको छ । सो क्षेत्रमा २६ ओटा ठूला उद्योगमा विदेशीले लगानी गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
नेपाल उद्योग परिसङ्घका महानिर्देशक मेघनाथ न्यौपानेले भूकम्पपछि भत्किएको भवनहरूको पुनर्निर्माण गर्ने काम भइरहेकाले सिमेण्ट उद्योगमा बढी लगानी प्रतिबद्धता आएको बताए । ५ महीनाको अवधिमा उत्पादनमूलक क्षेत्रमा ५ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको विभागले जानकारी दिएको छ । गतवर्षको सोही अवधिमा उत्पादनमूलक क्षेत्रमा १ अर्ब ३ करोड ९१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । विभागमा विभिन्न क्षेत्रमा गरी १ सय ४० ओटा परियोजनामा लगानी प्रतिबद्धता आएको छ । गतवर्ष सोही अवधिमा १ सय ७० ओटा परियोजनामा लगानी प्रतिबद्धता आएको थियो । यो वर्ष उद्योग सङ्ख्या घटे तापनि लगानी प्रतिबद्धतामा भने तीव्रता छाएको छ । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले भने, ‘परियोजनाको प्रकृतिअनुसार लगानी बढ्ने घट्ने गर्छ । उद्योगका ठूलाठूला परियोजना आएकाले लगानी प्रतिबद्धता बढेको हो, हामीलाई सीमित परियोजनामा ठूलो लगानी आउन आवश्यक छ ।’
यो वर्ष ठूला परियोजना भित्रिएसँगै अपेक्षित रोजगारीको सङ्ख्यामा पनि वृद्धि आएको छ । गतवर्ष १ सय ७० ओटा परियोजनामार्फत ४ हजार ७ सय ४६ जनालाई रोजगारीको प्रतिबद्धता थियो । यो वर्ष १ सय ४० परियोजनामार्फत ५ हजार ६ सय ८२ जनालाई रोजगारी उपलब्ध गराउने अपेक्षा छ । कृषि तथा वनजन्यका ९ परियोजनामा २ सय ४६, उत्पादनमूलकका २६ ओटा परियोजनामा १ हजार ७ सय ५६, सूचना, प्रसारण तथा सञ्चारप्रविधिका ११ ओटा परियोजनामा २ सय ७५ र ऊर्जामूलकका एउटा परियोजनामा १७ जनाले रोजगारी पाउनेछन् । यसैैगरी, खनिजका १ परियोजनामा ४ सय, सेवाक्षेत्रका ४६ ओटा परियोजनामा १ हजार ५ सय १६ र पर्यटन क्षेत्रका ४६ ओटा परियोजनामा १ हजार ४ सय ७२ जनाले रोजगारी पाउनेछन् ।

English
MTV NEPAL MTVNEPAL


