रुकुमको आठविसकोट नगरपालिकाले सुत्करीलाई निशुल्क रुपमा एम्बुलेन्सको सुविधा उपलब्ध गराउने भएको छ । वर्षेनी सुत्केरीको समयमा स्वास्थ्य चौकी नपाउदा अकालमै मृत्यु हुने भएकोले त्यस्तो समस्या पुनः नहोस् भनेर एम्बुलेन्सको व्यवस्था गर्न लागिएको नगर प्रमुख गोरखबहादुर केसीले जनाउ दिएका छन् । एम्बु्लेन्सको सुविधा भएपछि धेरै महिला स्वास्थ्य चौकीमा पुगेर सुरक्षित गर्भधान गर्ने नगरपालिकाले विश्वास लिएको छ । एम्बुलेन्सको सुविधा पाउने भएपछि स्थानीय महिलाहरु पनि हर्षित बनेका छन् । त्यसका लागि नगरपालिका आफैँले दुई वटा एम्बुलेन्स खरिदको प्रक्रिया अगाडि बढाएको छ, उनले भने, ‘यातायात सेवाको अभावमा धेरै महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन सकेका छैनन्।’ सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन नसक्दा महिलामा विभिन्नखालका स्वास्थ्य समस्या देखिएकाले सुरक्षित मातृत्व सेवाका लागि निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गर्न लागिएको नगर प्रमुख केसीले बताए।
उनले यसअघि नगरपालिकाले विशेषज्ञ चिकित्सकको नेतृत्वमा गरिएको स्वास्थ्य शिविरमा अधिकांश महिलामा तल्लोपेट दुख्ने र पाठेघर खसेको समस्या देखिएकाले उनीहरुको स्वास्थ्यमा सुधार ल्याउनका लागि पनि एम्बुलेन्सको आवश्यकता रहेको बताए। यसका साथै नगरपालिकाले सुत्केरी तथा गर्भवती महिलालाई स्वास्थ्य संस्थामा खोप लगाउन आउँदा तरकारीको बीउ उपहार दिने कार्यक्रम सुरु गरेको छ । महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन र नगरपालिकालाई पूर्ण खोपयुक्त नगर बनाउनका लागि यस्तो अवधारणा ल्याइएको नगर प्रमुख केसीले बताए। चौध ठाउँमा नयाँ नगर स्वास्थ्य एकाइ स्थापना गरेर सेवा दिन सुरु गरेको नगरपालिकाले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउने आमालाई दुई हजार बराबरको पोषिलो चामल, तेल, जिरा, मसला र तरकारीको बीउ उपहार दिने कार्यक्रम सुरु गरेको समेत उनले जानकारी दिए।

English
MTV NEPAL MTVNEPAL


