२६ मंसिर । समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्डका कारण यसपटक संसदमा राजनीतिक दलको संख्या ९ मै सीमित रहने संकेत देखिएको छ । समानुपातिक तर्फबाट संसदमा पुग्न विवेकशील साझा पार्टीले संघर्ष गरिरहेको छ । प्रत्यक्ष तर्फबाट नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपा संसदमा पुग्ने पक्का भएको छ । ९ दलले एक वा एक भन्दा बढी सीट जितेका छन् ।
नेकपा एमाले संसदको पहिलो पार्टी बन्ने पक्का भएको छ । प्रत्यक्षमा माओवादी केन्द्र दोस्रो बनेपनि समानुपातिक तर्फको नतिजाले कांग्रेस या माओवादी को दोस्रो बन्ने भन्ने यकिन हुनेछ । अहिलेसम्म जारी समानुपातिक मतगणनामा कांग्रेस दोस्रो स्थानमा छ । संसदमा ९ दलको उपस्थिति भएपनि राष्ट्रिय दलको संख्या भने कम हुने संकेत देखिएको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा पनि एक सिट जितेको र समानुपातिक तर्फ खसेको मतको तीन प्रतिसत ल्याउनु अनिवार्य छ । प्रत्यक्षतर्फ चुनाव जितेपनि अहिलेसम्म एमाले, कांग्रेस र माओवादी केन्द्रले मात्र कुल खसकेको मतको तीन प्रतिसत प्राप्त गरेका छन् । २०७० सालको संविधानसभा चुनावमा समानुपातिक तर्फबाट २४ सिट जितेको कमल थापा नेतृत्वको राप्रपाले यसपटक सोही अनुसार मत पाउने संकेत देखिएको छैन ।
समानुपातिक तर्फबाट संसदमा पुग्नको कुल खसेको मतको तीन प्रतिसत अर्थात तीन लाख भन्दा बढी मत ल्याउनु जरुरी छ । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा कुल १ करोड ५ लाख ८७ हजार ५ सय १२ मत खसेको थियो । तीन प्रतिसत मत बदर हुने विगतको ट्रेण्ड कायम रहेमा समानुपातिक तर्फवाट संसदमा पुग्न कम्तिमा ३ लाख ६ हजार भोट आबस्यक पर्ने अनुमान गरिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रले तीन प्रतिसत भन्दा बढी भोट पाइसकेका छन् । मतगणना जारी रहेकोले अन्य दलले पनि तीन प्रतिसतत भोट पाउने सम्भावना छ । समानुपातिक तर्फबाट संसदमा पुगे पनि प्रत्यक्षमा एकसिट पनि नजितेको विवेकशील साझा पार्टीले राष्ट्रिय दलको मान्यता भने पाउने छैन । पहिलो पटक चुनावमा सहभागी भएको नयाँ शक्ति पार्टीले पनि तीन प्रतिसत कटाउने लक्ष राखेको छ ।

English
MTV NEPAL MTVNEPAL


