धनुषा । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शान्ति सुरक्षा कायम गरी आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय अझ सक्रिय हुनुपर्ने बताउनु भएको छ । धनुषाको जनकपुरधाममा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै राउतले संविधानमा व्यवस्था भए अनुरुपको कानुन कार्यान्वयन गर्दै समाजमा सुरक्षा व्यवस्था मिलाउन सबै सुरक्षा निकायहरुले जोड दिनुपर्ने उललेख गर्नु भयो । उहाँले सामाजिक संजालको दुरुपयोगबाट सिर्जित अपराधका गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायहरु थप संवेदनशील भएर अगाडि बढ्नपर्ने बताउनुभयो । साथै आपराधिक गतिविधि नियन्त्रण गर्न केन्द्रीय, प्रदेश तथा स्थानीय तह सदैव समन्वय र सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् प्रा डा ईन्द्रजित राई, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव एवम् प्रवक्ता राम कृष्ण सुवेदी, २ नम्बर प्रदेश नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वाटरका पृतनापति नरेश भट्ट लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव कृष्णहरि पुष्करले २ नम्बर प्रदेशको शान्ति सुरक्षाका बारेमा प्रस्तुतीकरण गर्नुभएको उक्त गोष्ठीमा २ नम्बर प्रदेश अन्तर्गतका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा विपद व्यवस्थापन सम्बन्धी आआफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।
गोष्ठीमा प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण समेत भएको थियो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृहमन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव ईन्दु घिमिरे, आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव रामप्रसाद आचार्य, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्ले, प्रदेश सुरक्षा निकायका पदाधिकारीहरु, २ नम्बर प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू लगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

English
MTV NEPAL MTVNEPAL


