११ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी तथा ललितपुर १ बाट निर्वाचित सांसद नवराज सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् ।
बुधबार साँझ विज्ञप्ती निकाल्दै उनले आफूमाथि झुटो आरोप लगाएर नेपाल प्रहरीको वर्तमान नेतृत्व र प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिशोध साँध्ने हिसाबले लागिरहेकाले असुरक्षित भएको दाबी गरेका छन्।
सिलवालले आइजीपी नियुक्ति प्रकरणमा अदालतमा पेश भएका कागजातहरुको सन्दर्भमा अहिलेको सरकार तथा प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुन नसक्ने जिकिरसमेत गरेका छन् ।
उनले अहिलेको प्रहरी नेतृत्व र सरकारसँगै आफूले लडेका कारण उनीहरुबाट निष्पक्ष छानविन नहुने बताएका हुन् ।
सिलवालको विज्ञप्तिमा भनिएको छ– नेपाल प्रहरीको कर्मचारी प्रशासनसम्वद्ध गोप्य दस्तावेजहरुमा मेरो पहुँच पुग्ने र त्यसलाई मैले सच्च्याउने सम्भावना एउटा काल्पनिक कथ्य मात्र हो । त्यसमाथि, यसअघिको प्रहरी नेतृत्व शुरुदेखि नै मलाई प्रहरी महानिरीक्षक हुन नदिने प्रपञ्चका साथ योजनावद्ध ढंगले क्रियाशील रहेको यथार्थ अब आम जानकारीको विषय भइसकेको छ । यस्तो अवस्थामा, प्रहरी मुख्यालयमा सुरक्षित, सोही अवधिको गोप्य फाइलमा मैले किर्ते गर्नसक्ने कुरा कसरी सम्भव होला ?
सिलवालले आफूविरुद्ध संलग्न गृहमन्त्रालय र प्रहरी संगठनका सबैलाई वर्तमान सरकार र खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अनेकौं प्रपञ्च र तिकडम गरेर पुरस्कृत गरेको आरोप लगाएका छन् । ‘यो फेहरिस्तले पनि यस्तो गैरकानुनी कार्यमा को–को संलग्न थिए भन्ने अनुमान लगाउन गाह्रो छैन’ उनले भनेका छन् ।
निर्वाचनमा जनमत गुमाएको कामचलाउ सरकारले जसरी पनि आफू सत्ताबाट बाहिरनुअघि नै आफ्नो करिअर समाप्त पार्ने र बदनाम गर्ने अधैर्य व्यवहार देखाएको आरोप उनले लगाएका छन् ।
सांसद सिलवालले भनेका छन्– प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा गरेको अनावश्यक अस्वस्थ चलखेलकै कारण वर्तमान सरकार बदनाम भएको र चुनाव हार्नुको एउटा मुख्य कारण यही भएकाले प्रतिशोधवस ममाथि आक्रमण भएको अनुभव पनि मलाई भएको छ ।
पूर्वडीआइजी सिलवालले आफू जुनसुकै बेला अनुसन्धानमा सघाउन तयार भए पनि अहिलेको सरकारबाट आफू असुरक्षित भएकाले नयाँ सरकार आउनासाथ अनुसन्धान प्रक्रियामा सहभागी हुने बताएका छन् ।

English
MTV NEPAL MTVNEPAL


