काठडमाडौं,६ कार्तिक । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरेले वैदेशिक रोजगार व्यवसायीहरु एक ढिक्का नभै समस्याको समाधान नहुने कुरा बताउनु भएको छ । शुभ दिपावली,छठ पर्व तथा नेपाल सम्बत ११४० को अवसरमा काठमाडौंमा आयोजना गरिएको चियापान कार्यक्रममा बोल्दै गैरेले सरकार परिवर्तन सँगै कानुन परिवर्तन हुनाले व्यवसायीहरुलाई काम गर्न कठिन भएको उल्लेख गर्नु भयो ।
मलेसियासँग भएको नयाँ सम्झौताले मलेसिया काम गर्न जाने कामदारलाई कस्तो प्रभाव पर्छ त्यो हेर्न बाँकी रहेको उल्लेख गर्दै नेपाली कामदार मलेसियन कम्पनी या नेपाली म्यानपावर कम्पनीका कारण समस्यामा परेका हुन त्यसको पहिचान हुनु पर्ने बताउनु भयो । संसोधित वैदेशिक रोजगार ऐन २०६४ को वारेमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवसायी संघसँग राय माग गरेको जानकारी दिँदै नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा कुनै राजनीतिक रङ नभएको दाबी गर्नु भयो । संघको गत असोज ७ गते भएको निर्वाचनमा नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक फोरमको एकलौटी बर्चस्व कायम भएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले वैदेशिक रोजगार व्यवसायीहरुमा सकारात्मक उर्जा आउनु पर्ने उल्लेख गर्दै आचरण,उच्च नैतिकता र संस्कार हुनु पर्नेमा जोड दिनु भयो । कानुनी जटिलता र समस्यालाई चिरेर अगाडि बढ्नु पर्ने बताउँदै आप्रवासी कामदारको हक हितमा राष्ट्रिय मानव अधिकार आयोग रहेको उल्लेख गर्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ वैदेशिक रोजगार व्यवसायीहरुसँग मिलेर आगाडि बढ्न चाहेको बताउँदै वैदेशिक रोजगारले वार्षिक आठ खर्व रुपैया नेपाल भित्रिए पनि वार्षिक पाँच खर्ब रुपैया विदेश जाने गरेको प्रति म्यानपावर व्यवसायीहरु चनाखो रहनु पर्ने बताउनु भयो ।
संघका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य महेन्द्र शेरचनले व्यवसायीको योगदान,उनीहरुले देशलाई पु¥याएको योगदानको वारेमा लेखाजोखा नुहँदा दुःख लागेको बताउनु भयो । विचौलिया र विना इजाजत वैदेशिक रोजगार सम्बन्धि काम हुने गरेकोले वैदेशिक रोजगार व्यवसाय धरापमा परेको दाबी गर्नु भयो । व्यवसायीहरुबिच एक आपसमा दोसारोपण हुनु अस्वभाविक भएको भन्दै शेरचनले नियम कानुन राम्रो भए पनि व्यवसायीहरुले नियम कानुनको राम्रो पालना नगरेकोले वैदेशिक रोजगार व्यवसाय धरापमा परेको आरोप लगाउनु भयो ।
संघका प्रथम उपाध्यक्ष कमल तामाङले लोकतान्त्रिक पद्दतीबाट वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सम्पन्न भएको बताउँदै सम्पूर्ण व्यवसायीहरुको जीत भएको दाबी गर्नु भयो । बढी रेमिट्यान्स कसरी भित्राउन सकिन्छ भन्ने कुरा व्यवसायीहरुले सोच्नु पर्ने उल्लेख गर्नु भयो । श्रम मन्त्री र मन्त्रालयसँग संघले छलफल अगाडि बढाएको जानकारी दिनु भयो ।
संघका पूर्व अध्यक्ष तिलक रानाभाटले सरकारले सम्पूर्ण व्यवसायीहरुलाई आफ्नो कानुनी दायरामा ल्याएर निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने धारणा राख्नु भयो । सरकारसँग सह कार्य गरेर वर्तमान कार्य समिति अगाडि बढ्नु पर्नेमा रानाभाटले सल्लाहा दिनु भयो ।
संघका महासचिव सुजित श्रेष्ठले सरकारले मलेसिया कामदार पठाउन बाटो खुला गरे पनि यस सम्बन्धमा उदासीन रहेको आरोप लगाउनु भयो ।

English
MTV NEPAL MTVNEPAL


