२१ माघ, काठमाडौं । चारवटा प्रदेशमा आज पहिलो प्रदेशसभा बैठक बस्दैछ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो ।
प्रदेश १ र ४ को बैठक भने सोमबारका लागी तय भएको छ ।

बैठकका लागि सबैजसो प्रदेश सांसदहरु अस्थायी राजधानी पुगिसकेका छन् । चारवटै प्रदेशको बैठकको कार्यसूची पनि निर्धारण गरिसकिएको छ । बैठकको सुरुमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गर्ने कार्यसूची छ । त्यसपछि अन्तरिम प्रदेशसभा सञ्चालक कार्यविधि पारित गर्ने र सभामुखको निर्वाचनको मिति तोक्ने बैठकको मुख्य कार्यसूची रहेको छ ।
प्रदेश २ को प्रदेशसभा बैठकको अध्यक्ष जेष्ठ सांसद लगनलाल चौधरीले गर्ने छन् । मधेस केन्द्रित दलको बाहुल्य रहेको प्रदेश २ मा मर्यादापालकलाई दौरा सुरुवाल निषेध गरिएको छ । सांसदहरुले सुविधाअनुसारको पोशाक लगाउने छन् ।
उता प्रदेश ५ को प्रदेश सभा बैठकको अध्यक्षता ७९ वर्षीय बलदेव शर्मा पोखरेलले गर्नेछन् । प्रदेश ५ को सभामुख चयनका लागि २८ माघमा निर्वाचन गर्ने मिति प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
प्रदेश ५ मा बर्दिया, बाँके, दाङ, पूर्वी रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, पाल्पा, रुपन्देही र पश्चिम नवलपरासी रहेका छन् । ति जिल्लाका अधिकांश सांसद अघिल्लो दिन नै बुटवल आइसकेका छन् । पहिलो बैठकमा आएका सांसदहरुका लागि स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले खाना र आवासमा २० प्रतिशत छुट दिएका छन् ।
प्रदेश ६ को बैठकको लागि सुर्खेतमा पनि तयारी पूरा भएको छ । प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गर्नेछन् । बैठक आइतबार दिउँसो १ बजे बोलाइएको छ ।
प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठक जेष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बस्ने छ ।
यसअघि प्रदेश नं ३ को पहिलो बैठक माघ १८ गते सम्पन्न भईसकेको छ ।

English
MTV NEPAL MTVNEPAL


