आज फागुन ७ हामी प्रजातन्त्र दिवस भन्दै विदा मनाउँदै छौ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो। एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो। तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो। नेपालको इतिहासमा देशले एउटा क्रुर र निर्मम शासन व्यवस्था र त्यस्ता शासकबाट उन्मुक्ति पाएको दिनलाई सम्झँदै ।
इतिहास फगत इतिहास मात्रै होइन आजको राजनीति इतिहासको फल हो । जुनसुकै मूलुकको इतिहासको कुरा गर्दा राजनीति सबैभन्दा बढी जोडिने गर्दछ । नेपालको इतिहासमा प्रजातान्त्रिक संस्कारको पहिलो ढोका उघारिएको दिन फागुन ७ जसलाई हामी प्रत्येक वर्ष सम्झँदै आएका छौ । कठोर आन्दोलन र बलिदानीपूर्ण संघर्षका खातिर हामीले पाएको प्रजातन्त्र । २००७ सालमा प्रजातन्त्र भित्र्याएपनि त्यसपछिका मोडहरुमा पनि राजनीतिक संक्रमण र एजेन्डाहरुको स्थापनामा मुलुकले ठूलो कालखण्ड बोकेको छ । प्रजातान्त्रिक संस्कार अझै पनि बलियोसँग बसाउन सकिएको छैन । प्रजातन्त्रलाई सम्पूर्ण शासन प्रणालीको अन्तिम विकल्प मानिरहँदा पनि त्यसको व्यवस्थित र इमान्दारीताका साथ पालना नहुँदा त्यसको औचित्य पुष्टी गर्न सकस परिरहेको छ । आशा गरौँ आजका दिनमा त्यो कमजोरी मेटिनेछ । हामी प्रजातन्त्र दिवस मनाउँछौ तर यो विदाका रुपमा मात्रै मनाइएको छ । आजको दिनलाई बिदाका रुपमा मात्रै सीमित राख्दा यसको औचित्य पूरा हुन्छ त ? सरकारले गर्ने एकदुई ओटा सामान्य औपचारिक कार्यक्रम बाहेक प्रजातन्त्र दिवसलाई अन्य उपयोगी बनाउन सकिएको छैन । नेपालमा दिवस कैयौँ छन् । तीमध्ये कतिपय दिवसहरुमा सार्वजनिक विदा समेत दिइन्छ । तर त्यो विदा आराम गर्ने घुमघाम गर्ने वा अन्य प्रयोजनमा खर्चिने गरिन्छ ।
यसबाट यसको औचित्य पुष्टी हुन सकिएको छैन । कुनै एउटा दिनलाई राष्ट्रिय दिवसको रुपमा तोकेर अत्यन्तै भव्यताका साथ मनाउन पाए अझ बढी उपयुक्त हुने थियो कि ? नत्र विदाका रुपमा मात्रै त वर्षौँदेखि मनाउँदै आइरहेका छौ । प्रजातन्त्र आएको धेरै वर्ष वितेपनि प्रजातान्त्रिक संस्कार बलियोसँग स्थापित गर्न सकिएको छैन । अझै पनि पुरानै शासकीय शैली र मान्यताले छाड्न सकेको छैन । जनताको शासन बन्न सकेको छैन । शासन व्यवस्था जनमैत्री बन्न सकेको छैन । हरेक क्षेत्रमा शक्ति र सत्ताले नै प्रभूत्व जमाईरहेको छ । आम जनताले चाहेको प्रजातन्त्रको फल यस्तो हुँदै होइन । यसो भन्नुको अर्थ उही निरंकुश र स्वेच्छावादी जहानीय राणाशासन उपयुक्त थियो भन्ने पटक्कै होइन तर जनताको अपेक्षा बलिदान र संघर्षको तुलनामा अहिलेको संस्कार गुनासोरहित छैन । नीति, कानुन र संविधानमा प्रजातन्त्र शब्दको धेरै पहिलेदेखि नै प्रयोग भएपनि प्रजातन्त्रको सक्कली रुप अझै देख्न पाइएको छैन । प्रजातन्त्र मात्रै होइन अहिले हामी लोकतन्त्रको र गणतन्त्रको अवस्थासम्म आइपुगेका छौँ तर हामी प्रजातन्त्रको स्वादबाट समेत विमुख बन्दै आएको यथार्थ कसैले लुकाउन सक्दैन । यस्ता दिवस साँच्चिकै दिवस बन्न सकून् केबल बिदाको रुपमा मात्रै प्रयोग नहोस् । अन्त्यमा प्रजातन्त्र जत्तिको उत्तम शासन व्यवस्था कहीँ कतै पनि छैन । समस्या यसको व्यवहारिक कार्यान्वयनमा देखिएको छ । मुलुकलाई एउटा अन्धकार र निर्मम शासनबाट मुक्त गर्ने आजको दिन सधै सधै आइरहोस् प्रजातन्त्रको मर्म सबैले बुझून् सबैसबैमा शुभकामना ।

English
MTV NEPAL MTVNEPAL


