काठमाडौं : इरानको रिभोल्युसनरी गार्ड्सका कमान्डरले आफूहरूमाथि आक्रमण गर्ने कुनै पनि देशलाई मुख्य युद्धभूमि बनाइदिने चेतावनी दिएका छन् । कमान्डर होसेन सलामीले तेहरानमा एउटा पत्रकार सम्मेलनमा भने, ‘आफ्नो भूमिलाई प्रमुख युद्धभूमि बनाउन चाहने मुलुकले हामीमाथि आक्रमण गरे हुन्छ । हामीहरू इरानको भूमि अतिक्रमण गर्न कसैलाई पनि अनुमति दिँदैनौं ।
उनीहरूले पहिले गरे जस्तो रणनीतिक भूल नगर्लान् भनी हामी आशा गरौं ।’ उनीहरू भनेर उनले अमेरिकालाई संकेत गरेका थिए । तेहरानको इस्लामिक रिभोल्युसन यान्ड होली डिफेन्स म्युजियममा आयोजित एक प्रदर्शनी उद्घाटनका क्रममा उनले यो कुरा भनेका हुन् । उक्त प्रदर्शनीमा इरानको भूमिमा बरामद गरिएका अमेरिका तथा अन्य मुलुकका ड्रोनहरू देखाइएका छन् ।
साउदी अरबमा रहेका तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमणपछि उनको चेतावनी आएको हो । रियाद र अमेरिकाका अधिकारीहरूले उक्त आक्रमण इरानले गरेको आरोप लगाएका छन् ।
यसैबीच अमेरिकाले साउदी अरब र युनाइटेड अरब इमिरेट्सका तेल संरचनाहरूको सुरक्षाका लाथि थप अमेरिकी सैनिक पठाउने बताएको छ । पेन्टागनले कम संख्यामा सैन्य तैनाथी गर्ने र तिनको प्रतिरक्षात्मक प्रकृति हुने जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


