नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले शेरबहादुर देउवालाई तत्काल महासमिति बैठक बोलाउन आग्रह गरेका छन् । महाधिवेशन नहुँदा प्रदेश संरचनाको व्यवस्थापनमा जटिलता आउने थापाको भनाइ रहेको छ ।
नेपाली कांगे्रस बुटवल नगर समितिले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले पार्टीको भावी रणनीति र महाधिवेशनको मिति तय गर्न महासमिति बैठक बोलाउनुपर्ने माग गरे। कांग्रेसको छवि बचाइ राख्नका लागि हालको नेतृत्वले विश्राम लिने बेला आएको भन्दै उनले नयाँ युगको नेतृत्व गर्न पुरानो नेतृत्वले विश्राम लिनुपर्ने बताए।
‘तपाईंहरुले अहिलेसम्म गाडी हाँकेर यहाँसम्म आउनुभयो, अब तपाई्रहरु पछाडि बसेर यात्रा गर्नुहोस् हामी चालक बनेर पार्टी अघि बढाउछौँ, उनले भने। उनले अहिलेको युग युवाको भएकाले पुरानो युगको पुरुषले नयाँ युगको पनि नेतृत्व गर्न सान्दर्भिक नहुने बताए। प्रतिनिधि सभा सदस्यसमेत रहेका थापाले नेपाली कांग्रेसले अबलम्वन गरेको सिद्धान्तमा देश अगाडि बढ्दै गर्दा हारको कारण सम्बन्धमा समीक्षा हुनुपर्ने बताए। कम्युनिष्ट पार्टीहरु मिलेर कांग्रेस हार्यो भन्नु तर्कसंगत नहुने भन्दै उनले पाँच वर्षपछिको निर्वाचनमा कम्युनिस्ट फुटिसक्ने दाबी गरे । अहिलको सन्दर्भमा कांग्रेसले प्रतिपक्षको भूमिकामै बसेर काम गर्नुपर्ने उनको भनाइ छ। कालो धनलाई सेतो धन बनाउन सबैलाई ठाउँ दिनुपर्छ भन्ने भावी प्रधानममन्त्री केपी ओलीको भनाइलाई उनले अल्पबुद्धिको संज्ञा दिए। कालो धनलाई सेतो बनाउन दिनु भन्नु खतरनाक षड्यन्त्र भएको भन्दै यसले देशकै भविष्य अन्योलमा पर्ने दाबी थापाको छ।

English
MTV NEPAL MTVNEPAL


