सातवटै प्रदेशमा प्रदेशसभा बैठक आह्वान भइसकेको अवस्थामा प्रदेश सरकार गठनका लागि दलहरू गृहकार्यमा छन् ।
७ मध्ये ६ वटा प्रदेशमा वाम र एउटा प्रदेशमा मधेशी गठबन्धनसँग बहुमत छ । वाम गठबन्धनको बहुमत रहेका ६ वटा प्रदेशमा एमाले-माओवादी कार्यदलले मुख्यमन्त्री, सभामुख र उप-सभामुखको भागबण्डा टुंग्याइसकेको छ।
कार्यदलको आइतबारको बैठकले जुटाएको सहमतिअनुसार प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेले मुख्यमन्त्री पाउने छ । यस्तै ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेको छ । सभामुखका लागि प्रदेश १, ३, ६ र ७ एमाले तथा प्रदेश ४ र ५ माओवादीको भागमा परेका छन् ।
यस्तै उपसभामुख भने एमालेका सभामुख रहेका ४ वटा प्रदेशमा माओवादी र माओवादीका सभामुख रहेका २ वटा प्रदेशमा एमालेका हुनेछन् । सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने कानुनी व्यवस्था छ ।
दुईदलबीच भागबण्डा टुंगिएपछि मुख्यमन्त्रीका आकांक्षीहरूले दौडधुप बढाएका छन् । सबैजसो आकांक्षीहरू आफ्नो पक्षमा माहोल बनाउन व्यस्त छन् ।
यी हुन् सम्भावित मुख्यमन्त्री
प्रदेश १ मा एमालेबाट पोलिटव्यूरो शेरधन राई मुख्यमन्त्री बन्ने सम्भावना प्रवल रहेको एमाले स्रोतको दाबी छ । राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सहानुभूति छ । पार्टीका प्रदेश इञ्चार्ज भीम आचार्यले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् । तर, उनको सम्भावना कम रहेको स्रोत बताउँछ ।
प्रदेश नम्बर २ को मुख्यमन्त्री मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालले पाउने चर्चा छ । यस्तो अवस्थामा पार्टी उपाध्यक्ष लालबाबु राउत मुख्यमन्त्रीका प्रवल दाबेदार हुन् । राउत यसअघि फोरमको संसदीय दलको उपनेता थिए । प्रदेश २ मा राजपाबाट जितेन्द्र सोनल र मनिष सुमनले पनि मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन् ।
प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका रुपमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम चर्चामा छ । शाक्य नै मुख्यमन्त्रीको प्रवल दाबेदार हुन् ।
यस्तै पोलिटव्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डेले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । पाण्डे पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग बाक्लै भेटघाटमा छन् । मुख्यमन्त्री बन्नकै लागि पाण्डेले गुट परिवर्तन गर्न लागेको चर्चा एमाले वृत्तमा छ ।
प्रदेश नम्बर ४ बाट एमाले सचिव पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीका प्रवल दाबेदार हुन् । चुनावअघि वाम गठबन्धनको भागबण्डाका क्रममा लमजुङमा प्रतिनिधिसभा सदस्यको सिट माओवादीका देव गुरुङका लागि सुरक्षित गर्दै गर्दा सचिव गुरुङलाई दुवै पार्टीले मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेशसभामा उम्मेदवार बनाएको चर्चा हुने गरेको छ । सोही कारण पनि एमाले-माओवादी दुवैमाथि उनलाई नै मुख्यमन्त्री बनाउने दबाब छ ।
यस्तै एमालेकै किरण गुरुङले पनि आफ्नो दाबी पेश गरेका छन् । उनलाई पार्टी उपाध्यक्ष वामदेव गौतमको साथ छ । वामपन्थी गठबन्धनका अवधारणाकारसमेत रहेका गौतमले पार्टीको भागमा परेका ४ मध्ये एक मुख्यमन्त्री आफूले सिफारिस गरेको व्यक्ति हुनुपर्ने अडान राख्दै आएका छन् ।
वामदेवको अडानले काम गरे दुवैलाई आलोपालो मुख्यमन्त्री बनाउने सम्भावना पनि रहेको स्रोतको दाबी छ ।
प्रदेश नम्बर ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीका एक्ला दाबेदार हुन् । माओवादी नेता कृष्णबहादुर महरालाई दाङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउँदा मुख्यमन्त्री बनाउने शर्तमा नै शंकर पोखरेललाई प्रदेशमा राखिएको थियो । पोखरेल ५ नम्बर प्रदेशबाट मुख्यमन्त्री बन्ने लगभग निश्चितजस्तै छ ।
प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादीको भागमा परेको छ । पूर्वमन्त्री महेन्द्रबहादुर शाही मुख्यमन्त्रीका प्रवल दाबेदार हुन् । कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका रावलले मुख्यमन्त्री बनाउने आश्वासन पाएपछि अन्तिम समयमा प्रदेशसभामा उम्मेदवारी दिएका थिए ।
उनका अलावा पूर्वसभासद् एवम् जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारी पनि मुख्यमन्त्रीका आकांक्षी हुन् । उनले पनि आफूलाई मुख्यमन्त्री बनाउन पार्टीमा लबिङ बढाएको माओवादी स्रोत बताउँछ ।
प्रदेश नम्बर ७ को मुख्यमन्त्री पनि माओवादीकै भागमा परेको छ । माओवादीबाट वीरमान चौधरी, झपटबहादुर बोहरा र अक्कलबहादुर रावलको नाम चर्चामा छ । यसमध्ये थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न चौधरीको सम्भावना प्रवल रहेको स्रोतको दाबी छ ।
चुनावअघि एमालेका तर्फबाट कर्णबहादुर थापालाई मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रचार गरिए पनि समानुपातिक सूचीमा रहेका थापा सांसद बन्न पाएनन् ।

English
MTV NEPAL MTVNEPAL


