दशैँ मनाउन घर फर्किनेको लर्को

राँझाः दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ ।

जाजरकोटको बारेकोटबाट रोजगारीका लागि भारतको सिमला पुगेका धनबहादुर वली दशैँ मनाउन घर फर्किनुभएको छ । वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दशैँमा भने सधैँ घर फर्किने गरेको उहाँले बताउनुभयो । वलीका अनुसार, भारतको सिमलामा मजदुरी काम गर्ने जाजरकोटको बारेकोटका मात्रै १५ घरपरिवार दशैँ मनाउन घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।

जमुनाह नाकामा भेटिनुभएका सल्यान बनगार कुपिण्डे नगरपालिकाका गणेश विकले घरपरिवारलाई लत्ताकपडा र दशैँ खर्च लिएर भारतबाट घर फर्किएको बताउनुभयो । धेरै रुपैयाँ कमाउन नसके पनि जसोतसो खर्च जोहो गरेको उहाँको भनाइ छ । उक्त नाकाबाट दशैँ मनाउन घर फर्किने नेपालीको सङ्ख्या दैनिकरूपमा बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले बताउनुभयो ।

उहाँका अनुसार, अहिले दैनिक दुई÷तीन सय नेपाली जमुनाह नाका हुँदै दशैँ मनाउन घर फर्किने गरेका छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि प्रदेश नं ५ र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

दशैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न भारतीय सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराइएको समेत उहाँले जानकारी दिनुभयो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com