काठमाडौं – विश्व भरी ‘लिटिल बुद्ध’ भनेर चिनिनएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारेको प्रहरी टोली अनुसन्धानका लागि सिन्धुली छन् ।। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए।
हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोकस्थित बाँडेगाउँ आश्रममा छापा मारेपछि प्रहरीको अनुसन्धान हाल बम्जन बसिरहेको भनिएको सिन्धुलीस्थित आश्रमतर्फ केन्द्रित गरिने भएको हो। ‘सिन्धुपाल्चोक प्रहरीले दिएको रिपोर्टका आधारमा हामी उनको आश्रममा जाने तयारीमा छौं,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘सबै आश्रममा अनुसन्धान हुनेछ, हराएका व्यक्तिका आफन्तले उजुरी दिएका छन्, त्यसबारे अनुसन्धान हुन्छ।’
सिआइबी स्रोतका अनुसार प्रमाणका लागि सिन्धुपाल्चोकको बाँडेगाउँस्थित बम्जन आश्रमबाट संकलित वस्तु प्राविधिक रूपमा प्रमाणित हुन बाँकी रहेकाले तत्काल सार्वजनिक नगरिने भएको छ ।
बम्जनको विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि त्यसबारे जानकारी गराउन गृह मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, लम्जुङका प्रजिअलाई उनका गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको थियो। निर्देशन पाइएलगत्तै सिआइबी र सिन्धुपाल्चोक प्रहरीले बाँडेगाउँ आश्रममा छापा मारेर केही प्रमाण संकलन गरेको जनाइएको छ। बाँकी अनुसन्धानका लागि त्यहाँको प्रहरीलाई जिम्मा दिएर सिआइबी टोली भने अनुसन्धानका लागि अन्य जिल्ला खटिने बताइएको छ। प्रहरीका अनुसार सिन्धुली, मकवानपुर, बारा, लमजुङ, सर्लाहीमा रहेका बम्जन आश्रमलाई मुख्य निगरानीमा राखिएको छ।
बम्जनविरुद्ध मकवानपुरका ३० वर्षीया फूलमाया रुम्बा र ५१ वर्षीय सञ्चलाल वाइबाका परिवारले दुई युवती र एक पुरुष बेपत्ता पारिएको भन्दै खोजबिनका लागि उजुरी दिएका थिए। बम्जनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएको तथा केही आनी यौन दुव्र्यव्यहारमा परेको समाचार प्रकाशनपछि पीडितका आफन्तहरूले प्रहरी कार्यालयमा पुगेर उजुरी दिएका थिए। ‘सिन्धुपाल्चोक प्रहरीले अनुसन्धान अघि बढाएको छ, त्यसका आधारमा अन्य आश्रममा पनि प्रहरीले निगरानी बढाएको हो,’ प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने, ‘सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यसको निरूपण जरुरी छ।’ उनका अनुसार सिन्धुली, सर्लाही, बारालगायत आश्रम रहेका जिल्लामा प्रहरीले अनुसन्धान अघि बढाइनेछ।

English
MTV NEPAL MTVNEPAL


