जनकपुरधामः राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । बुद्ध एयरको फ्लाइट डिले भएकाे कारणले सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका हन् ।
सांसद साहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा एक विरामीलाई समस्या बढ्न थालेपछि आफू आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको बताए
बुद्ध एयरको काउण्टर तोडफोड गरेपछि सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान प्रवेशमै रोक लगाएको थियो । तर पछि प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद साहले काठमाडौँका लागि उड्न पाएका थिए ।
‘जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षीय सौखीलाल चौधरी किड्नी विरामी रहेछन् । उनलाई दिउसो २ बजेसम्ममा चिकित्सक कहाँ पुगेर चेकजाच गराउनुपर्ने थियो । तर, विमान आउन निकै ढिला भइरहेको थियो । त्यही आवेगमा आएपछि मैले तोडफोड गरेको हुँ,’ सांसद साहले भने ।
‘त्यसमाथि म आउँदा विमानस्थलको विशिष्ट कक्षमा राति देखिकै प्लेट र फोहोर ग्लासहरु यत्रतत्र छरिएका थिए । पटक–पटक जनकपुर विमानस्थलको अवस्थाबारे गुनासो गर्दा पनि सरोकारवालाले कुनै वास्ता गरेनन् । त्यही भएर पनि म आक्रोशमा आएको हुँ,’ उनले भने ।
बुद्ध एयरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको स्पष्ट पारे । ‘हामीले यो विषयमा यात्रुहरुलाई जानकारी पनि गराएका थियौँ । तर, सांसद साह एक्कासी आएर बुद्ध एयरको काउण्टरमा तोडफोड गर्न थाल्नुभयो । हाम्रा कर्मचारीसँग दुर्व्यवहार पनि गर्नुभयो,’ सिंहले भने । सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो ।

English
MTV NEPAL MTVNEPAL


