काठमाडौं, माघ २३ – निर्वाचन आयोगले माघ २४ अर्थात् भोलि हुने राष्ट्रियसभा चुनावको लागि सबै तयारी पूरा भएको जनाएको छ ।
भोलि प्रदेश नं. १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको छ । दुई नम्बर प्रदेशमा सबै निर्विरोध भईसकेकाले बाँकी ६ वटा प्रदेशमा मात्र भोलि चुनाव हुनेछ ।
राष्ट्रियसभा चुनावको परिणाम आएलगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम घोषणा गर्ने आयोगले जनाएको छ ।
राष्ट्रियसभामा चुनिने ५६ सिटमध्ये ३२ सिटका लागि मात्रै चुनाव हुन लागेको हो । उम्मेदवारी मनोनयनकै क्रममा २४ सिट निर्विरोध भैसकेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
हरेक प्रदेशबाट कम्तीमा ३ जना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अरु ३ जनासहित ८ जना निर्वा्चित हुने संवैधानिक प्रावधान छ । राष्ट्रियसभा चुनाव नहुँदा दुई महिनाअघि सकिएको प्रतिनिधिसभा चुनावको अन्तिम नतिजा घोषणा हुन सकेको छैन ।
राष्ट्रियसभा चुनावको परिणाम माघ २५ गते आइसक्ने र २६ गते यसको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने लक्ष्य रहेको आयोगले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


